आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा


काठमाडौँ । २–१ गोल अन्तरले नर्वेलाई पराजित गर्दै इङल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बिहान भएको क्वार्टरफाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गोल गरेका हुन् । यससँगै आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए ।
उता, स्वीटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा आज भएको खेलमा स्विट्जरल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाका एलेक्सिस म्याप एलिस्टर, जुलियन अल्भारेल र लाउटारो मार्टिनेजले आफ्नो टोलीलाई एकएक गोलको योगदानबाट सेमिफाइनलमा पुरयाएका हुन् ।
खेलको १०औँ मिनेटमा एलिस्टरले हेड गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६७औँ मिनेटमा स्वीटजरल्यान्डका उडान एनडोयेले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।
खेलको ७२औँ मिनेटदेखि स्वीट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो । ब्रेल एम्बोलोले दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित बनेको हो ।
खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीको समान गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । खेलको ११२औँ मिनेटमा अल्भारेलले गोल गर्दै अर्जेन्टिनाको अग्रता कायम गरे । त्यसपछिको अतिरिक्त समयमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई विजयी बनाए । अब अर्जेन्टिना फाइनल प्रवेशका लागि इङल्यान्डसँग खेल्नेछ ।


