मंगलबार, १६ जुन, २०२६
21:07 | ०१:५२

जय नेपाल इन्टरनेसनल फाउन्डेशन नेतृत्वमा पुनः डा. पण्डित

नेपाली लिङ्क जुन १६, २०२६

अध्यक्ष डा. यादव पण्डित

अमेरिका— जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक साधारण सभा तथा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सफलतापूर्वक सम्पन्न भएको छ ।

अमेरिकामा मुख्य कार्यालय रहेको फाउन्डेशनले भर्चुअल माध्यमबाट आयोजना गरेको सो अधिवेशनले डा. यादव पण्डितलाई केन्द्रीय अध्यक्षमा पुनः निर्विरोध निर्वाचित गरेको हो ।

विश्वभर छरिएका नेपाली समुदायका अगुवा, गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी, विभिन्न च्याप्टरका प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता थियो ।

अधिवेशनमा संस्थाका विभिन्न विभाग तथा अन्तर्राष्ट्रिय च्याप्टरहरूले आ–आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष गोविन्द श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्दै संस्थामा हाल २९ जना गभर्निंग काउन्सिल सदस्य र ९२ जना आजीवन सदस्य आबद्ध रहेको जानकारी दिए । यसैगरी, महासचिव अग्नि चौलागाईंले संस्था स्थापनादेखि हालसम्म सम्पादित प्रमुख गतिविधि, ग्लोबल नलेज नेटवर्क, विभिन्न विभाग तथा च्याप्टरहरूले गरेका कार्यहरूबारे विस्तृत जानकारी गराएका थिए ।

ग्लोबल नलेज नेटवर्कका प्रमुख डा. निरज श्रेष्ठले संस्थाद्वारा सञ्चालित वेबिनारहरूबारे र युवा विभागका कार्यवाहक अध्यक्ष महेन्द्र बस्नेतले विश्वका ३४ मुलुकमा विभाग अन्तर्गत च्याप्टर गठन भइसकेको विवरण प्रस्तुत गरे ।

त्यस्तै, महिला विभाग संयोजक बिनिता अधिकारीले महिला सशक्तिकरणका क्षेत्रमा भइरहेका कामहरु बारे जानकारी गराइन् ।

अधिवेशनका क्रममा विभिन्न देशका च्याप्टर प्रतिनिधिहरूले संस्थाको आगामी कार्यदिशा र चुनौतीहरूबारे आ–आफ्नो धारणा राखेका थिए । अष्ट्रेलिया च्याप्टरका अध्यक्ष डा. डिल्ली बन्जाडे र डेनमार्क च्याप्टरकी अध्यक्ष सीता बरालले आ–आफ्नो क्षेत्रका गतिविधिबारे जानकारी गराउँदै शुभकामना व्यक्त गरे ।

यूके च्याप्टर अध्यक्ष डा. सम्पूर्णानन्द ढुंगानाले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै ज्ञानको विस्तारमा असीमित सम्भावना रहेको औंल्याए । उनले नयाँ कार्यसमितिलाई प्राथमिकताका क्षेत्रहरू स्पष्ट रूपमा निर्धारण गर्न, केन्द्र र च्याप्टरबीचको सम्बन्ध पुनर्परिभाषित गर्न तथा संस्थालाई महासंघको स्वरूपमा अगाडि बढाउने विषयमा गम्भीर विमर्श गर्न आग्रह गरे ।

अधिवेशनमा नर्थ क्यारोलिना च्याप्टरले सञ्चालन गरिरहेको नेपाली भाषा तथा संस्कृति संरक्षण अभियान र जय नेपाल अनुसन्धान संस्था (थिङ्क ट्यांक) लगायतका नयाँ पहलहरूसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको सुरुमा निर्वाचन समितिका संयोजक विश्वनाथ बरालले चुनावी नतिजाको आधिकारिक घोषणा गर्दै नवनिर्वाचित केन्द्रीय अध्यक्ष डा. यादव पण्डितलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए । नव निर्वाचित अध्यक्ष डा. पण्डितले संस्थाको गरिमालाई उच्च राख्दै विश्वभरका नेपालीलाई जोड्ने र ज्ञान एवं सिपको आदानप्रदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । अध्यक्षले फाउन्डेसनका अन्य पदाधिकारीहरु मनोनित गर्ने छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू