आइतबार, १४ जुन, २०२६
13:12 | १७:५७

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

रासस जुन १४, २०२६

काठमाडौँ, जेठ ३१ गते । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन् । उनी गएराति त्यसतर्फ प्रस्थान गरेका थिए ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनी स्थानीय समय अनुसार अपराह्न बेइजिङ पुगेका हुन् ।

बेइजिङस्थित विमानस्थलमा मन्त्री खनाललाई चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।

परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गर्दैछ । समारोहमा मन्त्री खनालले नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्ने दूतावासले जनाएको छ ।

चीनमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्य अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने छन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका छ ।

मुलुकमा वैदेशिक लगानी भित्रयाउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू