विश्वकै संवेदनशील समुद्री व्यापार मार्गमाथि इरानको थप नियन्त्रण


तेहरान, जेठ ७ गते । इरानले विश्वकै संवेदनशील समुद्री व्यापार मार्गमध्ये पर्ने स्ट्रेट अफ हर्मुजमाथि आफ्नो नियन्त्रण अझ कडा बनाउने कदम स्वरूप नयाँ व्यवस्थापन तथा अनुगमन क्षेत्रको सीमा औपचारिकरूपमा निर्धारण गरेको छ । नयाँ गठन गरिएको पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए) ले अब जलघाँटी पार गर्ने जहाजले अनिवार्यरूपमा समन्वय र अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको जनाएको छ ।
पिजिएसएले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको विवरणअनुसार नयाँ पर्यवेक्षण क्षेत्र इरानको कुह मोबारकदेखि संयुक्त अरब इमिरेट्सको फुजैराको दक्षिणी समुद्री क्षेत्रसम्म फैलिएको छ । यो क्षेत्र स्ट्रेट अफ हर्मुजको पूर्वी भागमा पर्ने बताइएको छ । इरानको केश्म टापुको अन्तिम विन्दु र संयुक्त अरब इमिरेट्सको उम्म अल–कैवेनलाई जोड्ने काल्पनिक रेखाबाट यो व्यवस्थापन क्षेत्र सुरु हुने उल्लेख गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार हर्मुज जलघाँटी हुँदै यात्रा गर्न चाहने जहाजले ‘पर्सियन खाडी जलमार्ग व्यवस्थापन’ निकायसँग अनिवार्यरूपमा समन्वय गर्नुपर्ने छ । साथै पिजिएसएबाट पूर्वअनुमति नलिई कुनै पनि जहाजले उक्त क्षेत्रमा प्रवेश गर्न नपाउने स्पष्ट पारिएको छ । व्यवस्थापन निकायले जलमार्गको सुरक्षा, सञ्चालन र निगरानीलाई व्यवस्थित बनाउने उद्देश्यले यस्तो कदम चालिएको जनाएको छ ।
यो घोषणा अमेरिका र इरानबिच जारी शान्ति वार्तामा कुनै प्रगति नभइरहेका बेला आएको हो । दुवै पक्ष आ–आफ्ना अडानमा अडिग रहेका छन् । वासिङ्टनले इरानको आणविक कार्यक्रम पूर्णरूपमा रोक्न दबाब दिइरहेको छ भने तेहरानले आफ्नो ऊर्जा सुरक्षा र स्ट्रेट अफ हर्मुजमाथिको नियन्त्रणलाई राष्ट्रिय अधिकारको विषयका रूपमा प्रस्तुत गरिरहेको छ ।
इरानले सोमबार मात्रै स्ट्रेट अफ हर्मुजसँग सम्बन्धित सम्पूर्ण गतिविधिको अनुगमन र व्यवस्थापन गर्न नयाँ नियामक निकाय स्थापना गरिएको घोषणा गरेको थियो । इस्लामिक गणतन्त्रको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि पिजिएसएको आधिकारिक एक्स खाता सक्रिय भएको जानकारी पुनः सार्वजनिक गर्दै नयाँ निकाय सञ्चालनमा आएको पुष्टि गरेको थियो ।
विश्लेषकले यस कदमलाई विश्व ऊर्जा आपूर्ति प्रणालीसँग प्रत्यक्ष सम्बन्धित रणनीतिक सन्देशका रूपमा हेरिरहेका छन् । स्ट्रेट अफ हर्मुज विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिन्छ । यहाँबाट विश्वको ठूलो हिस्सा कच्चा तेल तथा ऊर्जा आपूर्ति हुने गर्दछ । नयाँ निकायको स्थापनासँगै इरानले अब जलमार्गको सञ्चालन, अनुगमन र प्रशासनिक नियन्त्रणलाई संस्थागत स्वरूप दिएको सङ्केत देखिएको छ ।
यस महिनाको सुरुआतमै इरानी सरकारी सञ्चार माध्यम प्रेस टिभीले तेहरानले स्ट्रेट अफ हर्मुज हुँदै हुने समुद्री आवागमन नियन्त्रण गर्न नयाँ संयन्त्र लागू गरेको जनाएको थियो ।
रिपोर्टअनुसार अब उक्त जलमार्ग प्रयोग गर्न चाहने सबै जहाजले ठेगानाबाट आधिकारिक इमेल प्राप्त गर्ने छन् । यसमा मार्ग प्रयोगसम्बन्धी नियम, प्रक्रिया र निर्देशन समावेश रहने छन् ।
नयाँ संरचनाअन्तर्गत जहाजले जारी गरिएका निर्देशन पालना गर्नु पर्ने छ र हर्मुज प्रवेश गर्नु अघि ट्रान्जिट अनुमति लिन अनिवार्य गरिएको छ । हाल अमेरिका–इजरायल गठबन्धन सेना र इरानबीचको तनावका कारण यो समूद्री मार्गमा अस्थिरता र अवरोध बढिरहेका बेला इरानले आफ्नो नियन्त्रण प्रणालीलाई थप औपचारिक र कडा बनाएको हो ।
प्रेस टिभीले पिजिएसएको यो पहललाई ‘सार्वभौम शासन संयन्त्र’ का रूपमा वर्णन गरेको छ । इरानले नयाँ संरचना अहिले पूर्णरूपमा सञ्चालनमा रहेको र यसमार्फत स्ट्रेट अफ हर्मुजमा हुने गतिविधिमाथि प्रत्यक्ष निगरानी गरिने जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


