बिहीबार, १४ मे, २०२६
21:53 | ०२:३८

बेइजिङमा ट्रम्प-सी भेटवार्ताः प्रतिद्वन्द्वी होइन, साझेदार बन्न जोड

सिन्ह्वा मे १४, २०२६

बेइजिङ, वैशाख ३१ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा द्विपक्षीय वार्ता भएको छ ।

वार्ताका क्रममा राष्ट्रपति सीले नयाँ युगमा दुई ठूला देशबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने सही बाटो पहिल्याउनु पर्नेमा जोड दिएका छन् ।

राष्ट्रपति सीले दुई देशबीच मतभेदभन्दा साझा हितका विषयहरू बढी रहेको उल्लेख गर्दै एकको सफलता अर्कोका लागि अवसर हुने बताए ।

चीन र अमेरिकाबीचको स्थिर सम्बन्ध विश्वका लागि लाभदायक हुने चर्चा गर्दै उनले सहकार्यबाट दुवै पक्षलाई फाइदा हुने र टकरावले दुवैलाई नोक्सानी पुग्ने धारणा व्यक्त गरे ।

राष्ट्रपति सीले भने, “हामी प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ । हामीले एक अर्कालाई सफल हुन र सँगै समृद्ध बन्न मद्दत गर्नुपर्छ ।”

विश्वमा एक शताब्दीयता नदेखिएको परिवर्तनको गति तीव्र भइरहेको र अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर रहेको सन्दर्भ जोड्दै चिनियाँ राष्ट्रपतिले विश्व अर्को दोबाटोमा उभिएको बताए ।

उनले चीन र अमेरिकाले ठूला शक्तिबीचको द्वन्द्वको जोखिमलाई पार गर्दै प्रमुख राष्ट्रहरूबीच सम्बन्धको नयाँ नमुना तयार गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न आजको समयको मुख्य चुनौती रहेको उल्लेख गरे ।

राष्ट्रपति सीले दुवै देशका जनताको हित र मानवताको भविष्यका लागि विश्वव्यापी चुनौतीहरूको मिलेर सामना गर्नुपर्नेमा जोड दिए। उनले सन् २०२६ लाई चीन–अमेरिका सम्बन्धका लागि ऐतिहासिक र कोशेढुङ्गा सावित हुने वर्षका रूपमा हेर्न चाहेको समेत व्यक्त गरेका छन् ।

उक्त भव्य समारोहमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको वार्ता ‘अत्यन्त सकारात्मक’ भएको बताए । राष्ट्रपति ट्रम्पले भने, ‘हामीले चिनियाँ प्रतिनिधिमण्डलसँग आज अत्यन्त सकारात्मक र फलदायी कुराकानी गरेका छौँ ।’

भेटका अबसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणका लागि आमन्त्रण पनि गरेका छन् ।

अमेरिकी राष्ट्रपति र प्रतिनिधिमण्डलको सम्मानमा आयोजित रात्रिभोज समारोहमा राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी र प्रथम महिला पेङलाई निमन्त्रणा गर्न पाउनु मेरो लागि गौरवको विषय हो ।’

सहकार्यले अमेरिकालाई सहयोग पुग्छः राष्ट्रपति सी

यसैबीच, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तापछि आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै चीनको प्रगतिले अमेरिकालाई पुनः महान् बनाउन सक्ने बताएका छन् ।

ट्रम्पको एमएजीए अभियानलाई सङ्केत गर्दै नेता सीले भने, ‘चिनियाँ राष्ट्रको महान पुनरुत्थान हासिल गर्ने कार्य र अमेरिकालाई फेरि महान बनाउने काम पूर्णरूपमा सँगसँगै चल्न सक्छ । यसले एक अर्कालाई सफल हुन मद्दत गर्न सक्छ र सम्पूर्ण विश्वको भलाइलाई अगाडि बढाउन सक्छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू