शुक्रबार, १ मे, २०२६
12:53 | १७:३८

बेल्जियममा आइतबार शान्ति पदयात्रा

नेपाली लिङ्क मे १, २०२६

ब्रसेल्स – नेपाली दूतावास बेल्जियमले बुद्ध जयन्तिको अवसरमा एन्तवेर्पेन महानगरसंगको सहकार्यमा एन्तवेरपेनको विलरैकमा स्थापना गरिएको बुद्ध प्रतिमामा प्रार्थनासहित शान्ति पदयात्रा गर्ने भएको छ ।

यही मे ३ तारिख (आइतबार) बिहान १० बजे सुरु हुने आरोग्य एवम् शान्ति पदयात्रामा बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्साल, एन्तवेर्पेन महानगरका उपप्रमुख कारिम बाकार, बौद्ध गुरु खेम्पो बगिन्द्र शिल लगायत नेपाली समुदायले भाग लिने कार्यक्रम रहेको नेपाली दूतावास ब्रसेल्सले जानकारी गराएको छ।

सोहि अवसरमा योग ध्यानसंगै शान्तिपदयात्रा हुनेछ । सहभागी सबैले बुद्ध प्रतिमामा फूलमाला अर्पण र टिलाईट प्रज्वल गर्ने ब्यबस्था गरिएको छ।

नेपाल र बेल्जियमको दौत्य सम्बन्ध स्थापना भएको ५० बर्ष पुरा भएको अवसरमा नेपाली दूतावासले एन्तवेर्पेन महानगरको सहकार्यमा स्थापना गरेको बुद्ध प्रतिमा रहेको स्थानमा भगवान बुद्ध जयन्तीको अवसर पारी विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो।


“युद्ध, द्वन्द्व तथा अशान्तिले आक्रान्त आजको विश्वमा नेपालमा जन्मिएका बुद्धको जन्मभूमिको प्रचारप्रसार, उहाँको जीवन दर्शन, शान्तिको सन्देश तथा “वसुधैव कुटुम्बकम्” को समग्र भाव एकैसाथ प्रवाह हुने यस महत्त्वपूर्ण पदयात्रा कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु,” राजदूत लम्सालले भनिन्

नेपाली समुदायलाई सार्वजनिक रुपमा निमन्त्रणा गरिएको सो कार्यक्रममा ब्यवस्थापन सहजताका लागि अग्रिम दर्ता गर्न दूतावासले अनुरोध गरेको छ। दर्ताको लागि क्युआर कोड अथवा सूचनामा राखिएको लिंकमार्फत आवेदन गर्न सकिनेछ ।

कार्यक्रम ब्यबस्थापन सहयोग नेपाली मिलन केन्द्र एन्तवेर्पेनले गरेकोछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू