आइतबार, २६ अप्रिल, २०२६
12:56 | १७:४१

राष्ट्रपति ट्रम्पमाथि तेश्रोपटक हत्या प्रयास

रासस-एपी-एएफपी अप्रिल २६, २०२६

२५ अप्रिलमा वाशिंगटनमा आयोजित ‘ह्वाइट हाउस संवाददाता संघ’ को रात्रिभोजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प। तस्बिर- युरी ग्रिपास

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ‘डिनर कार्यक्रम’ मा एक हतियारधारी व्यक्तिले आक्रमण गर्ने प्रयास गरेपछि स्थिति आतंकित बन्यो ।

प्रारम्भिक जानकारी अनुसार ती व्यक्तिले बन्दुक र चक्कु लिएर कार्यक्रम स्थलको लबी क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीहरू तत्काल सक्रिय भएर उनलाई नियन्त्रणमा लिए । घटनाका क्रममा गोली चलेको आवाज सुनिएको थियो र केही अतिथिहरू डराएर टेबलमुनि लुकेका थिए । राष्ट्रपति ट्रम्पलाई सुरक्षाकर्मीहरूले तुरुन्तै सुरक्षित स्थानमा लगेर उनी सकुशल रहे ।

सुरक्षा अधिकारीहरूसँग भएको मुठभेडमा आक्रमणकारीले गोली हानेको र सुरक्षाकर्मीहरूले पनि जवाफी कारबाही गरेको बताइएको छ । एक सुरक्षा अधिकारीलाई गोली लागेको भए पनि बुलेटप्रुफ ज्याकेटका कारण गम्भीर क्षति हुनबाट जोगिएको छ । आक्रमणकारीलाई घटनास्थलमै नियन्त्रणमा लिइएको छ र उनी एक्लै योजना बनाएर आएको प्रारम्भिक निष्कर्ष छ ।

अमेरिकी सरकारी वकिलका अनुसार उक्त संदिग्धविरुद्ध हिंसात्मक अपराधका क्रममा हतियार प्रयोग गरेको र सङ्घीय सुरक्षाकर्मीमाथि खतरनाक हतियार प्रयोग गरी आक्रमण गरेको आरोप लगाइनेछ । उनलाई सोमबार राजधानीस्थित सङ्घीय अदालतमा पेश गरिनेछ ।

समाचार स्रोतका अनुसार घटना अचानक भएको भए पनि सुरक्षाकर्मीहरूको तत्काल प्रतिक्रियाका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ । अहिले घटनाबारे विस्तृत अनुसन्धान जारी छ र सुरक्षालाई अझ कडा बनाइएको छ ।

ट्रम्पले सन् २०२१ मा ह्वाइट हाउस छोडेपछि पुनः चुनाव प्रचारका क्रममा सन् २०२४ मा उनीमाथि दुईवटा हत्या प्रयास भएका थिए ।

सबैभन्दा गम्भीर घटना जुलाई २०२४ मा पेन्सिलभेनियाको बटलरमा एक चुनावी र्‍यालीमा भएको थियो ।

ट्रम्पलाई २० वर्षीय बन्दुकधारीले उनको कानको माथिल्लो भाग छुने गरि गोली हानेर घाइते बनाएको थियो । पछि बन्दुकधारीलाई सुरक्षाकर्मीहरूले गोली हानेर मारिदिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू