शनिबार, १८ अप्रिल, २०२६
19:13 | २३:५८

रसमोरबाट दोश्रोपटक काउन्सिलर प्रतिष्पर्धामा बेल्वासे, यसपटक रोजे म्यानोर पार्क

नेपाली लिङ्क अप्रिल १८, २०२६

लन्डन । पूर्व काउन्सिलर एवं ग्रेटर रसमोर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष जीव नारायण बेल्वासे दोश्रोपटक काउन्सिलर प्रतिष्पर्धामा उत्रिएका छन् ।

आउंदो ७ मे बिहीबार हुने स्थानीय निर्वाचनमा यसपटक उनले बेलायतमा नेपाली जनसंख्या उल्लेख्य रहेको रसमोर बरो अन्तर्गत म्यानोर पार्क वार्ड रोजेका छन् जहां विगत २५ वर्षदेखि उनको बसोवास छ । बेल्वासे कन्जरभेटिभका काउन्सिलर उम्मेदवार हुन् ।

यसअघि उनले वेलिङटन वार्डबाट काउन्सिलर जितेर सन् २०२१ देखि २०२४ सम्म एक कार्यकाल जिम्मेवारी पूरा गरिसकेका थिए ।

‘मैले बाटो बनाउंछु वा सपिङ सेन्टर बनाउंछु भनेर त्यो न म गर्न सक्छु न मतदाताले पत्याउंछन्’, उनले चुनावी अभियानबारे नेपालीलिंकसंग खुलेर भने, ‘स्थानीयसंग तपाईंहरुलाई अप्ठेरो पर्दा म हाजिर हुन्छु मलाई विश्वास गर्नुस् भनेको छु ।’

अपराध र असामाजिक व्यवहारविरुद्ध लड्ने, टाउन सेन्टर सुधार, राम्रो आवास प्रदान, हरियाली ठाउँहरू संरक्षण, पार्किङ व्यवस्थापन एवं खाल्डाखुल्डी मर्मत र स्थानीय सरकार पुनर्गठन गर्ने मुख्य एजेण्डा उनका छन् ।

पार्टीले एक अविश्वसनीय रूपमा कडा परिश्रम गर्ने सामुदायिक अभियानकर्ता र लामो समयदेखि म्यानोर पार्कको स्थानीय बासिन्दा भएकाले उम्मेदवार बनाएको उनी बताउंछन् ।

आफू २५ वर्षभन्दा बढी समयदेखि यहीं बसोवास गरेको र विगतमा पनि काउन्सिलर बनेर वा संघसंस्थाका तर्फबाट धेरै सामाजिक काम गरेकाले मतदाताले मत दिने उनको विश्वास छ ।

‘म्यानोर पार्कका धेरै बासिन्दाले लेबर पार्टीलाई आफ्नो मत दिए तर विगत तीन वर्षमा केही काम भएन । बरु केन्द्रीय र स्थानीय सरकारमा भएको अस्तव्यस्तताबाट मतदाताले निराश महसुस गरेका छन्’, बेल्वासे भन्छन्, ‘अनगिन्ती लेबर सांसद र काउन्सिलरहरूले अनुचित कार्य गरेको गम्भीर आरोपको सामना गर्नुपरेको छ र लेबरको सर्वेक्षण मूल्याङ्कन २० प्रतिशतभन्दा तल झरेकाले म जित्छु भन्ने विश्वास छ ।’


रसमोर बरोमा अरु पनि प्रतिष्पर्धी

भूतपूर्व ब्रिटिश गोर्खा उत्तरबहादुर गुरुङ रसमोर बरो अन्तर्गत अल्डरसटस्थित वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार बनेका छन् ।

६६ वर्षीय गुरुङ सत्तारुढ पार्टी लेबरका तर्फबाट काउन्सिलर उम्मेदवार बनेका हुन् ।

उनी उठकै वार्ड वेलिङटनमा अर्का नेपालीमूलका चिकित्सक डा. विशाल गुरुङ पनि कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका छन् । नेपालीमूलका दुई उम्मेदवार एउटै वडामा प्रतिष्पर्धा भएको यो पहिलो हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू