आइतबार, १२ अप्रिल, २०२६
14:57 | १९:४२

आ-आफ्नै अडानका कारण विफल भयो इरान अमेरिका शान्तिवार्ता

नेपाली लिङ्क अप्रिल १२, २०२६

संयुक्त राज्य अमेरिका र इरान शान्तिवार्ता अघि पाकिस्तानको इस्लामाबादमा राखिएको बिलबोर्डको छेउबाट हिंड्दै एक प्रहरी अधिकारी । तस्विर- एपी

इस्लामाबाद । इरान र अमेरिकाबीच पाकिस्तानको इस्लामाबादमा भएको शान्तिवार्ता बिना निष्कर्ष टुंगिएको छ ।

छ हप्ता लामो युद्ध अन्त्य गर्ने प्रयासमा दुवै देशका प्रतिनिधिमण्डल सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक उच्चस्तरीय वार्ता गर्न पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका थिए ।

केही दिनअघि दुई साताका लागि युद्धविराम गर्न सहमत भएका अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थतामा शान्तिवार्ता भएको थियो । वार्ता विफल भएपछि दुवै देशका प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ ।

‘हामी यहाँ २१ घण्टादेखि छौँ। तर दुःखद समाचार के छ भन्दा हामी सहमतिमा पुग्न सकेनौँ’, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तापछि पत्रकार सम्मेलनमा भने ।

उनले संयुक्त राज्य अमेरिकाले उसका ‘लक्ष्मणरेखाहरू’ प्रस्ट पारेको तर इरान ती शर्तहरूमा सहमत नभएको उल्लेख गरे। ‘हामी त्यस्तो अवस्थामा पुग्न सकेनौँ, जहाँ इरानले हाम्रा शर्तहरू स्वीकार्न सक्थ्यो’, उनले अगाडि थपे।

वार्ताप्रति अमेरिकी नीतिको चर्चा गर्दै भान्सले पत्रकारहरूलाई भने- ‘मलाई लाग्छ हामी बिल्कुल लचिलो थियौँ, हामी एकदमै मिल्न सक्ने रूपमा थियौँ।’

उनले घण्टौँसम्म चलेको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पसँग कैयौँ पटक कुराकानी गरेको पनि जानकारी दिए। ‘मलाई थाहा छैन कि यस बीचमा मैले राष्ट्रपतिज्यूसँग ठ्याक्कै कति पटक कुरा गरेँ, पछिल्लो २१ घण्टामा दर्जन पटक संवाद भएको हुनुपर्छ।’

उपराष्ट्रपति भान्सले वार्ताका लागि अमेरिका लचिलो र ‘सद्भावका साथ’ पाकिस्तान आएको भन्दै दुर्भाग्यवश दुवै पक्ष सहमतिमा पुग्न नसकेको बताए।

‘यो नै हाम्रो अन्तिम र सर्वोत्तम प्रस्ताव हो भन्ने एकदमै सरल प्रस्तावसहित हामी यहाँबाट बाहिरिँदै छौँ। इरानले त्यसलाई स्वीकार गर्छ वा गर्दैन भनी हामी हेर्छौँ’, भान्सले भने।

इरानको पारमाणविक सामथ्र्यबारे पत्रकारहरूको जिज्ञासामा भान्सले इरानलाई पारमाणविक अस्त्र हासिल गर्नबाट रोक्नु राष्ट्रपति डोनल्ड ट्रम्पको वर्तमान र भविष्य दुवैको मुख्य लक्ष्य भएको बताए।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघईले वार्ताहरू सघन भए पनि त्यसको सफलता अर्को पक्षको ‘गम्भीरता एवं असल नियतमा निर्भर गर्ने’ बताएका छन्।

उनले अत्यधिक माग तथा नाजायज आग्रहहरू नगर्न तथा इरानका ‘वैध अधिकार एवं स्वार्थहरू स्वीकार्न’ वाशिङ्गटनलाई आग्रह समेत गरे।

होर्मुज जलमार्ग, इरानको पारमाणविक कार्यक्रम, इरानमा युद्धको पूर्णतः अन्त्य लगायत विषयमा आफूहरूले छलफल गरेको उनले बताए ।

इरानका सभामुख समेत रहेका इरानी वार्ता टोलीका नेता मोहम्मद बाकर कलिबाफले वाशिङ्टनले सही सम्झौता प्रस्ताव गरेमा र इरानको अधिकार सुनिश्चित गरेमा तेहरान सहमतिका लागि तयार रहेको बताएका थिए । बीबीसी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू