मंगलबार, ७ अप्रिल, २०२६
23:54 | ०४:३९

अमेरिका–इजरायल हवाई आक्रमणमा इरानका महत्वपूर्ण पूर्वाधारहरू क्षतिग्रस्त

रासस अप्रिल ७, २०२६

अमेरिका–इजरायल हवाई आक्रमणबाट क्षतिग्रस्त 
तेहरानस्थित एक अस्पतालमा भएको क्षति हेर्दै इरानी नागरिक । तस्बिर- एपी

तेहरान, चैत २४ गते । इरानका अधिकारीहरूले मङ्गलबार अमेरिका–इजरायलद्वारा गरिएका हवाई आक्रमणका क्रममा देशका महत्वपूर्ण पूर्वाधारहरूमा क्षति पुगेको बताएका छन् ।

सरकारी सञ्चारमाध्यमका अनुसार पवित्र सहर कुम नजिकको एक पुल तथा केन्द्रीय सहर काशानमा रहेको रेलमार्गसहितको अर्को पुलमा आक्रमण गरिएको छ ।

काशानमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । यो जानकारी क्षेत्रीय सुरक्षा अधिकारी अकबर सालेहीलाई उद्धृत गर्दै इरानको आइआरएनए समाचार एजेन्सीले दिएको हो ।

उत्तरी इरानमा रहेको प्रमुख राजमार्ग पनि प्रभावित भएको छ । तब्रिज सहरलाई तेहरानसँग जोड्ने उक्त राजमार्गमा आक्रमण भएपछि करिब ९० किलोमिटर दूरीमा यातायात अवरुद्ध भएको अधिकारीहरूले बताएका छन् ।

इरानको रिभोलुसनरी गार्डससँग सम्बन्धित एक टेलिग्राम च्यानलका अनुसार आक्रमण ओभरपास पुलमा लक्षित गरिएको थियो ।

तेहरान नजिकको कराज क्षेत्रमा रेलमार्गमा पनि आक्रमण भएको मिजान समाचार एजेन्सीले जनाएको छ । सार्वजनिक गरिएका तस्बिरहरूमा उद्धारकर्मीहरूले घाइतेलाई स्ट्रेचरमा लैजाँदै गरेको देखिन्छ ।

इजरायलले रेलमार्ग प्रयोग नगर्न चेतावनी दिएपछि मङ्गलबार इरानको दोस्रो ठूलो सहर मशहदतर्फ जाने र आउने सबै रेल सेवा रद्द गरिएको छ ।

आइआरएनए समाचार एजेन्सीका अनुसार कराज र फर्दिस क्षेत्रमा विद्युत् प्रसारण लाइन तथा सबस्टेसनमा क्षति पुगेपछि आंशिक विद्युत् अवरोध भएको छ ।

यसैबीच, इजरायली सेनाले पूर्वाधार लक्षित व्यापक आक्रमण सम्पन्न गरेको पुष्टि गरेको छ, तर कुन–कुन स्थानमा आक्रमण गरिएको भन्ने विवरण दिएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानले युद्ध अन्त्यका लागि सम्झौता नगरे पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका थिए । उनले ‘सबै कुरा ध्वस्त पार्ने र तेल नियन्त्रणमा लिने’ सम्भावनाबारे पनि विचार गरिरहेको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू