शुक्रबार, १३ मार्च, २०२६
17:53 | २३:३८

१४ मार्चदेखि काठमाडौँमा हुंदैछ एनआरएन विश्व सम्मेलन एवं १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन

नेपाली लिङ्क मार्च १३, २०२६

काठमाडौं । गैरआवासीय नेपाली विश्व सम्मेलन एवं १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही फागुन ३० देखि चैत २ गतेसम्म (१४–१६ मार्च २०२६) काठमाडौँमा हुंदैछ ।

‘हाम्रो एकता, समृद्धिको आधार’ नाराका साथ हुन लागेको विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन उद्घाटन १४ मार्च २०२६ तदनुसार २०८२ फागुन ३० गते बिहान ९ बजे हुनेछ । त्यसबीचमा १४ तारिख साँझदेखि १५ तारिख साँझसम्म संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिने एनआरएनएले जनाएको छ ।

निर्वाचन भौतिक र अनलाइन गरी हाइब्रिड मोडेलमा हुनेछ । यसपटक ४ हजार दुई सय ८६ प्रतिनिधिले भौतिक र अनलाइन माध्यमबाट निर्वाचनमा सहभागिता जनाउनेछन् । यद्यपि सर्वसम्मतिको पहल भइरहेको जनाइएको छ । १६ मार्च २०२६ साँझ ५ बजे प्रधानमन्त्रीबाट सम्मेलन समापन हुने कार्यक्रम छ ।

यसअघि परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन भई सम्मेलन तथा महाधिवेशन सम्बन्धी सम्पूर्ण तयारी समेत पूरा भइसकेको संघको भनाइ छ । सम्मेलनमा गैरआवासीय नेपाली सम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकले पाउने संविधान प्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, गैरआवासीय नेपालीको संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सीप र प्रविधि हस्तान्तरण, महिला, युवा तथा दोस्रो पुस्तालाई नेपालसँग जोड्ने लगायतका विविध सत्रमा छलफल हुनेछ।

उक्त सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरू, एनआरएनका अभियन्ताहरू तथा स्वदेशी र विदेशी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

संघले सम्पूर्ण गैरआवासीय नेपालीलाई उत्साहपूर्ण सहभागिताका लागि हार्दिक अपिल गर्दै सञ्चारकर्मीहरूलाई पनि सम्मेलन सफल बनाउन महत्वपूर्ण सहयोगका लागि विशेष अपिल गरेको छ ।

९२ देशमा औपचारिक सञ्जाल विस्तार

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरू भएको गैरआवासीय नेपाली अभियान विश्वभर रहेका नेपालीहरूलाई एक सूत्रमा बाँध्ने उद्देश्यका साथ विगत २३ वर्षदेखि अघि बढिरहेको छ । यस संस्थाले परिवर्तित समय र सन्दर्भमा आफूलाई पनि परिष्कृत गर्दै लैजाने चुनौती स्वीकार्दै आफूलाई मातृभूमि नेपालको सच्चा साझेदारको रूपमा उभ्याउन सक्षम भएको छ ।

स्थापनाको २३ वर्षको अवधिमा ९२ देशमा औपचारिक सञ्जाल विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एउटै मालामा पंक्तिवद्ध गर्न संघ सफल भएको छ । विदेशमा रहेका पहिलो पुस्ता मात्रै नभई दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूमा समेत मातृभूमिप्रतिको अपनत्व महसुस हुनु, विदेशमा रहेका सबै नेपालीले नेपालको समृद्धिमा क्षमता अनुसारको भूमिका निर्वाह गर्ने गहिरो चाहना प्रकट गर्नु लगायतले सन् २००३ मा समृद्ध नेपालका लागि गैरआवासीय नेपालीले देखेको समृद्ध नेपालको सपना बिस्तारै साकार हुने दिशामा अगाडि बढेको संघको बुझाइ छ ।

संघको १० औँ र ११ औँ महाधिवेशनपछिको कालखण्डमा संस्थाभित्र देखिएका अप्ठ्याराहरूलाई आत्मसमीक्षा, संवाद र सहकार्यको बलमा चरणबद्ध रूपमा सम्बोधन गर्दै सन् २०२५ नोभेम्बर ३० मा प्रधानमन्त्री सुशीला कार्कीको रोहबर, परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहितको उपस्थितिमा गैरआवासीय नेपाली संघभित्र ऐतिहासिक तथा बृहत् एकता भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू