शुक्रबार, १३ मार्च, २०२६
11:59 | १७:४४

छ वर्षपछि उत्तर कोरिया र चीनबीच रेल सेवा पुनः सञ्चालनमा

रासस/एएफपी मार्च १३, २०२६

तस्विर रोयटर्स

बेइजिङ, फागुन २९ गते । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको छ । प्योङयाङबाट छुटेको रेल करिब २३ घण्टाको यात्रापछि शुक्रबार बिहान बेइजिङ आइपुगेको छ, जसले महामारीका कारण बन्द भएको दुई देशबीचको रेल आवागमन पुनः सुरु भएको सङ्केत दिएको छ ।

प्योङयाङबाट प्रस्थान गरेको के २८ नम्बरको रेल शुक्रबार बिहान ८:३७ बजे (००३७ जिएमटी) बेइजिङ आइपुगेको बताइएको छ । कोरोना महामारीका बेला कडा सीमा बन्द गरिएपछि सन् २०२० देखि पूर्वी एसियाका यी दुई छिमेकीबिच रेल सेवा स्थगित भएको थियो । चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा चिनिन्छ । त्यस्तै पृथक मानिने आणविक राष्ट्र उत्तर कोरियाका लागि चीन कूटनीतिक, आर्थिक तथा राजनीतिक समर्थनको महत्त्वपूर्ण स्रोतसमेत मानिन्छ ।

रेल सेवा पुनः सुरु हुनुलाई उत्तर कोरियामा विदेशीको सीमित पहुँच पुनः खुल्न थालेको सङ्केतका रूपमा पनि हेरिएको छ । हालसम्म उत्तर कोरियाले सीमित व्यवस्था अन्तर्गत केही रूसी नागरिकबाहेक अन्य विदेशी पर्यटकका लागि कडा प्रतिबन्ध लगाएको पर्यटन एजेन्सीले बताएका छन् । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीका अनुसार बिहीबार उक्त रेल चीन र उत्तर कोरियालाई जोड्ने यालु नदीमाथिको चीन-कोरिया मैत्री पुल पार गरेको देखिएको थियो ।

यही नदीले उत्तर कोरियाको सिनुइजु सहर र चीनको उत्तरपूर्वी सहर डान्डोङलाई छुट्याउँछ । बिहीबार बेइजिङबाट प्योङयाङतर्फ प्रस्थान गरेको के२७ नम्बरको रेलमा सवार एएफपीका पत्रकारले उत्तर कोरिया जाने यात्रुका लागि मात्र केही डिब्बा आरक्षित गरिएको देखेको बताएका छन् । ती डिब्बा डान्डोङमा अर्को रेलसँग जोडेर सीमापार सिनुइजुतर्फ पठाइन्छ, जसबारे टुर एजेन्सीले जानकारी दिएका छन् । सिनुइजु पुगेपछि ती डिब्बा उत्तर कोरियाली घरेलु रेलका अन्य डिब्बासँग जोडेर प्योङयाङतर्फ जाने तेस्रो रेलमार्फत अन्तिम यात्रामा पठाइने व्यवस्था गरिएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू