शनिबार, ७ मार्च, २०२६
05:02 | १०:४७

इरानविरुद्ध सुरु युद्ध ‘नयाँ चरण’ मा झन् सशक्त

रासस/एएफपी मार्च ६, २०२६

तेहरानमा शुक्रबार बिहान भएको विस्फोटपछि उडिरहेको धुवाँको मुस्लो । तस्विर- गेट्टी इमेजेज

तेहरान, फागुन २२ गते । इजरायलले इरानविरुद्ध सुरु भएको युद्ध ‘नयाँ चरण’ मा प्रवेश गरेको बताउँदै शुक्रबार राजधानी तेहरानमा ठूलो आक्रमण गरेको खबर सार्वजनिक भएको छ । युद्ध सातौँ दिनमा पुगेको बेला दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण तीव्र बनेका छन् भने यसको प्रभाव मध्यपूर्वका अन्य देशमा पनि फैलिएको देखिएको छ ।

इरानी सञ्चार माध्यमका अनुसार शुक्रबार बिहान तेहरानमा शक्तिशाली विस्फोटसहित आक्रमण भए । इजरायलले त्यसअघि राजधानीमा ‘शासन पूर्वाधार’ लक्षित गरी प्रहार गर्ने घोषणा गरेको थियो ।

इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले अमेरिका–इजरायल संयुक्त अभियान अब अर्को चरणमा पुगेको र यसले इरानको शासन संरचना तथा सैन्य क्षमतामाथि थप आक्रमण गर्ने चेतावनी दिएका छन् ।

उनले अझै थप ‘अप्रत्याशित कदम’ आउन सक्ने सङ्केत पनि गरेका छन् । अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले पनि इरान र तेहरानमाथि प्रयोग गरिने सैन्य शक्ति नाटकीय रूपमा बढ्ने बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नेतृत्व परिवर्तनको विषयमा आफू संलग्न हुनुपर्ने बताएका छन् । अमेरिका–इजरायलको प्रारम्भिक आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनी मारिएपछि नयाँ नेतृत्वको विषय चर्किएको छ ।

ट्रम्पले खामेनीका छोरा मोज्ताबा खामेनी सम्भावित उत्तराधिकारी हुन सक्ने अनुमान अस्वीकार गर्दै उनलाई ‘हल्का वजन’ भएको टिप्पणी गरेका छन् । उनले इरानमा ‘सद्भाव र शान्ति ल्याउने’ नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।

द्वन्द्वको प्रभाव इजरायल र लेबनानसम्म फैलिएको छ । इरान समर्थित हिजबुल्लाहले क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले लेबनानमा हवाई आक्रमण गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार ती आक्रमणमा कम्तीमा १२३ जनाको मृत्यु भएको छ ।

बेरुतका दक्षिणी उपनगरबाट दशौँ हजार मानिस विस्थापित भएका छन् र धेरै परिवार समुद्र तटमा अस्थायीरूपमा बस्न बाध्य भएका छन् । समुद्र तटमा आश्रय लिइरहेका ६१ वर्षीय युसेफले आफू सन् २०२४ को युद्धपछि दोस्रो पटक विस्थापित भएको बताए । उनका अनुसार यस्तो अवस्थामा कसले बाँच्ने भन्ने निर्णय ‘भाग्य’ ले गर्ने जस्तो लाग्छ । आफ्नो परिवारलाई सुरक्षाका लागि सिरिया पठाएको र आफैँ घर फर्कने कि नफर्कने भन्ने दुविधामा रहेको उनले बताए । “किन यस्तो युद्ध ?” भन्ने प्रश्न उनले निराश हुँदै उठाए ।

तेहरानमा भने आक्रमणबीच पनि केही स्थानमा सामान्य जीवनका दृश्य देखिएका छन् । बच्चा बेलुनसँग खेलिरहेका र अभिभावकले आफ्ना बालबालिकासँग साना सवारी चलाइरहेका दृश्य देखिए पनि सादा पोसाकमा सुरक्षा अधिकारी सडकमा सक्रिय देखिएका छन् । स्थानीय एक इन्जिनियरका अनुसार सुरक्षा बलले सडकमा गस्ती गर्दै मानिसको फोन जाँच गर्ने र डरको वातावरण सिर्जना गर्ने काम गरिरहेका छन् ।

यसैबीच देशभर इन्टरनेट सेवा लगभग ठप्प भएको छ । निगरानी संस्था नेटब्लक्सका अनुसार इरानमा इन्टरनेट कनेक्टिभिटी सामान्य अवस्थाको करिब एक प्रतिशत मात्र छ । अधिकारीहरूले नागरिकलाई भिपिएन प्रयोग नगर्न चेतावनी दिएका छन् । तेहरानबाट बाहिरिएका युगान्डाका विद्यार्थी ओस्कार नाइगेमाले आक्रमणका क्रममा सहरभरि त्रास फैलिएको बताए। उनका अनुसार विस्फोटका कारण जमिन नै थर्किएको महसुस भएको थियो र धेरै मानिस अत्यन्त डराएका थिए ।

यसबीच इरानले पनि इजरायल र खाडी क्षेत्रका केही लक्ष्यतर्फ प्रतिआक्रमण गरेको जनाएको छ । कतारले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले अल–उदेदस्थित अमेरिकी हवाई अड्डालाई लक्षित ड्रोन आक्रमण विफल पारेको जनाएको छ ।

बहराइनले राजधानीमा होटल र दुई आवासीय भवन लक्षित आक्रमण भएको तर कुनै मानवीय क्षति नभएको बताएको छ भने साउदी अरेबियाले तीन वटा ब्यालेस्टिक क्षेप्यास्त्र रोकेको जनाएको छ ।

युद्ध सुरु भएदेखि खाडी क्षेत्रका देशमा १३ जनाको मृत्यु भएको छ, जसमा सात जना सर्वसाधारण रहेका छन् । मृतकमध्ये कुवेतकी ११ वर्षीया बालिका पनि रहेको जनाइएको छ । द्वन्द्वको असर मध्यपूर्व बाहिर पनि देखिएको छ । श्रीलङ्काको तट नजिक अमेरिकी पनडुब्बीले एक इरानी युद्धपोतलाई टारपीडो गरेको खबर आएको छ भने अजरबैजानले आफ्नो विमानस्थलमा ड्रोन आक्रमण भएपछि प्रतिशोधको चेतावनी दिएको छ ।

एक इरानी राज्य सञ्चालित फाउन्डेसनले अमेरिका र इजरायलका आक्रमणबाट इरानमा एक हजार २३० जनाको मृत्यु भएको दाबी गरेको छ, तर यो तथ्य स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । अमेरिकी सेनाले भने युद्ध सुरु भएदेखि आफ्ना छ सैनिक मारिएको जनाएको छ भने इजरायलमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । इरानले भने युद्धविरामप्रति असहमति जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग वार्ता गर्नुपर्ने कुनै कारण नदेखिएको बताए ।

उता अमेरिकी रक्षामन्त्री हेग्सेथले अमेरिकी हतियारको अभाव नरहेको भन्दै युद्ध जारी रहने सङ्केत दिएका छन्। तर मध्यपूर्वमा अमेरिकी सेनाको कमान्ड सम्हाल्ने सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरका अनुसार इरानबाट हुने आक्रमण क्रमशः घट्दै गएको छ । उनले युद्ध सुरु भएको पहिलो दिनको तुलनामा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण ९० प्रतिशत र ड्रोन आक्रमण ८३ प्रतिशतले घटेको बताए ।

युद्धले विश्व बजारमा पनि प्रभाव पारेको छ । ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय यात्रा प्रभावित भएका छन् । तेलको मूल्यमा हाल केही स्थिरता देखिए पनि धेरै एसियाली सेयर बजार शुक्रबार घटेका छन् ।

यसैबीच इरानले होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण रहेको बताएको छ । त्यहाँबाट विश्वको ठूलो हिस्सा ऊर्जा आपूर्ति हुन्छ । वासिङ्टनले भने आवश्यक परेमा जहाजलाई सुरक्षा दिँदै आवतजावत गराउने जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू