बेलायती प्रधानमन्त्री ८ वर्षपछि पहिलो चीन भ्रमणमा



बेइजिङ, माघ १४ गते । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले बुधबार चीनको तीन दिने औपचारिक भ्रमण सुरु गरेका छन् । सन् २०१८ पछि बेलायती प्रधानमन्त्रीको बेइजिङमा यो पहिलो भ्रमण हो ।
उक्त भ्रमणमा स्टार्मरका साथ वित्त, औषधि, अटोमोबाइल लगायत क्षेत्रका करिब ६० जना व्यापारी र सांस्कृतिक प्रतिनिधि सहभागी छन् ।
स्टार्मर चीनबाट लगानी आकर्षित गर्ने र आर्थिक सहयोग बढाउने लक्ष्यमा रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । लामो समयदेखि चिसिएको सम्बन्धपछि लन्डन र बेइजिङबीचको ‘व्यावहारिक’ साझेदारी जोगाउने उद्देश्यले यो भ्रमण गरिएको बताइएको छ ।
पछिल्ला हप्ता केही पश्चिमी नेताले चीनसँग सम्बन्ध सुदृढ गर्ने प्रयास गरिरहेका बेला यो भ्रमणलाई त्यसैको निरन्तरता मानिएको छ ।
बुधबार बिहान बेइजिङ पुगेका स्टार्मरले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने छन् भने प्रधानमन्त्री ली किआङसँग पनि छलफल हुने कार्यक्रम छ ।
डाउनिङ स्ट्रिटका अनुसार भेटवार्तामा व्यापार, लगानी र राष्ट्रिय सुरक्षाका विषय प्रमुख रहनेछन् । स्टार्मरले चीन भ्रमणलाई ‘अत्यन्त महत्वपूर्ण’ बताउँदै केही ठोस प्रगति हुने अपेक्षा व्यक्त गरेका छन् ।
उनले चीनतर्फ उडानका क्रममा पत्रकारसँग कुरा गर्दै द्विपक्षीय सम्बन्ध गहिरो बनाउने अवसर रहेको बताएका थिए । चीनसँग व्यवहार गर्दा राष्ट्रिय सुरक्षामा सम्झौता नगर्ने तर यथार्थ परक दृष्टिकोण अपनाउनु आवश्यक रहेको उनको भनाइ थियो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पनि यो भ्रमणलाई राजनीतिक आपसी विश्वास बढाउने अवसरका रूपमा लिने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण अमेरिका र उसका सहयोगीबीच तनाव बढिरहेका बेला चीनले आफूलाई भरोसा योग्य साझेदारका रूपमा प्रस्तुत गर्न खोजेको विश्लेषण गरिएको छ । सन् २०२० मा हङकङमा कडा राष्ट्रिय सुरक्षा कानून लागू भएपछि बेलायत–चीन सम्बन्ध बिग्रिएको थियो ।
त्यसपछि दुवै देशबीच जासुसीसम्बन्धी आरोप–प्रत्यारोपले सम्बन्ध थप कमजोर बनायो । यद्यपि स्टार्मर सन् २०२४ मा सत्ता सम्हालेपछि चीनसँग सम्बन्ध पुनः स्थापित गर्न प्रयासरत छन् ।
भ्रमणका क्रममा हङकङका प्रजातन्त्र समर्थक मिडिया व्यवसायी जिमी लाईको मुद्दा पनि उठ्ने अपेक्षा गरिएको छ । यद्यपि स्टार्मरले यसबारे विस्तृत टिप्पणी नगरे पनि असहमति भएका विषयमा खुला संवाद गर्नु नै संलग्नताको अर्थ हुने बताएका छन् ।
यसैबीच, बेलायतमा प्रस्तावित नयाँ चिनियाँ दूतावास योजनालाई लिएर सरकार आन्तरिक विरोधको सामना गरिरहेको छ । युक्रेन युद्धमा रूससँग चीनको नजिकिएको सम्बन्ध र मानव अधिकारका विषयमा पनि बेलायत र चीनबीच मतभेद कायम छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


