सोमबार, १९ जनवरी, २०२६
15:10 | २०:५५

स्पेनमा भीषण रेल दुर्घटना: ३९ भन्दा बढीको मृत्यु, १५० घाइते

नेपाली लिङ्क जनवरी १९, २०२६

लन्डन – दक्षिणी स्पेनको आदमजमा आइतबार साँझ दुई द्रुत गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३९ जनाको ज्यान गएको छ।

बीबीसीका अनुसार दुर्घटनामा १५० बढी यात्रु घाइते भएका छन्।

मलागाबाट म्याड्रिडतर्फ गइरहेको इरियो कम्पनीको रेल लिकबाट बाहिरिएर विपरीत दिशाबाट आइरहेको रेन्फे कम्पनीको रेलसँग ठोक्किएको थियो।

स्थानीय समय अनुसार साँझ ७:४५ बजे भएको उक्त दुर्घटनामा अधिकांश हताहत म्याड्रिडबाट हुवेल्भातर्फ जाँदै गरेको दोस्रो रेलको अगाडिको डिब्बामा सवार यात्रुहरू भएका थिए।

स्पेनका यातायात मन्त्री ओस्कार पुएन्टेले दुर्घटना भएको रेलमार्ग सीधा र हालै मर्मत गरिएकोले यसलाई ‘अत्यन्तै असामान्य’ दुर्घटना भन्दै गहन अनुसन्धानको घोषणा गरेका छन्।

प्रधानमन्त्री पेड्रो सान्चेजले यस घटनालाई देशकै लागि ‘अत्यन्तै दुःखद रात’ को संज्ञा दिँदै मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

घटनास्थलमा उद्धार कार्य जारी छ भने घाइतेहरूको कोर्डोबाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

रेलमा जडान गरिएको आधुनिक प्रणालीले चालकको त्रुटिलाई समेत सच्याउने भएकाले मानवीय भूलका कारण दुर्घटना भएको सम्भावना कम रहेको बताइएको छ।

दुवै रेल निर्धारित अधिकतम गति २५० किलोमिटर प्रतिघण्टाभन्दा कम गतिमा गुडिरहेको र दुर्घटना घुम्तीमा नभई सीधा रेलमार्गमा भएकाले घटना थप रहस्यमय बनेको छ।

यद्यपि, दुर्घटनाबारे अहिले नै ठोस निष्कर्षमा पुग्न कठिन भए पनि प्राविधिक गडबडी वा पूर्वाधारमा देखिएको समस्या मुख्य कारण हुन सक्ने अधिकारीहरूले बताएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू