आइतबार, ११ जनवरी, २०२६
10:06 | १५:५१

युक्रेनबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपतकालिन बैठक

रासस/एएफपी जनवरी १०, २०२६

संयुक्त राष्ट्रसङ्घ, पुस २६ गते । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युक्रेनबारे छलफल गर्न सोमबार आपतकालिन बैठक आयोजना गरेको जनाएको छ । किएभका मेयरले रूसी आक्रमणका कारण भएको उर्जा अवरोधका कारण बासिन्दालाई राजधानी छोड्न आग्रह गरेपछि बैठकको तालिका संशोधन भएको छ ।

रुसी महासङ्घले नागरिकविरुद्धको आतङ्कवादद्वारा युद्ध अपराध र मानवता विरुद्धको अपराधको भयावह स्तरमा पुगेको युक्रेनी राजदूत एन्ड्री मेलनिकले शुक्रबार सुरक्षा परिषद् समक्ष पठाएको पत्रमा उल्लेख गरिएको एएफपीले जनाएको छ । पछिल्लो रूसी आक्रमणले किएभका आधाजसो आवासीय भवनलाई ऊर्जा विहिन बनाएको मेयर भिटाली क्लिट्स्कोले बताएका छन् ।

क्रेमलिनले सन् २०२२ फेब्रुअरीमा युद्ध सुरु भएदेखि दोस्रो पटक युक्रेनमा ओरेसनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको पनि पुष्टि गरेको छ । रूसी सङ्घले आधिकारिक रूपमा लिभिभ क्षेत्रमा मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल, ‘ओरेसनिक’ प्रयोग गरेपछि राजदूतले सुरक्षा परिषद्लाई पत्र पठाएका हुन् । ‘यस्तो आक्रमणले सुरक्षाका लागि गम्भीर र अभूतपूर्व खतराको प्रतिनिधित्व गर्दछ’- पत्रमा छ ।

मस्कोले आणविक र परम्परागत दुवै हतियारले युक्त ओरेसनिक रोक्न असम्भव भएको दाबी गरेको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् आपतकालीन बैठकका लागि युक्रेनको अनुरोधलाई फ्रान्स, लाटविया, डेनमार्क, ग्रिस, लाइबेरिया र बेलायत लगायत छ सदस्य राष्ट्रले समर्थन गरेको कूटनीतिक स्रोतलाई उदृत गर्दै एएफपीले बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू