सोमबार, १५ जुन, २०२६
05:53 | १०:३८

नयाँ वर्ष उत्सव मनाइरहेका बेला आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु

रासस/एएफपी जनवरी १, २०२६

घटनास्थल नजिकै प्रहरीहरू । तस्विर: जीन-क्रिस्टोफ बोट/इपिए/सटरस्टक

क्रान्स–मोन्टाना (स्विजरल्यान्ड), पुस १७ गते –नयाँ वर्षको पूर्वसन्ध्यामा दक्षिणी स्विट्जरल्याण्डको स्की रिसोर्टको एउटा बारमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। थप ११५ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ।

प्रहरी प्रवक्ता गेटान लाथिओनका अनुसार, क्रान्स–मोन्टानामा रहेको ले कन्स्टेलेसन नामक बारमा नयाँ वर्षको उत्सव मनाइरहेका बेला बिहान करिब १ः३० बजे आगलागी भएको थियो ।

उक्त भवनमा नयाँ वर्षको उत्सव मनाउन १०० भन्दा बढी मानिस भेला भएका थिए । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक र उद्धारकर्मीको ठूलो टोली तुरुन्तै पुगेको र धेरै पीडितलाई उद्धार गरिएको जनाइएको छ ।

स्वीस मिडियाले प्रकाशित गरेका तस्बिरहरुमा आगो लागेको भवन र मानिस चिच्याउँदै भागिरहेको दृश्य देखाइएको छ ।

प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक रिपोर्ट अनुसार कन्सर्टका क्रममा आतिशबाजी प्रयोग गर्दा आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रहरी प्रवक्ता लाथिओनले भने, ‘अपरेसन अझै जारी छ र प्रभावित क्षेत्र जनताका लागि पूर्णरूपमा बन्द गरिएको छ । क्रान्स मोन्टानामा नो–फ्लाई जोन लागू गरिएको छ ।’

घटनास्थलमा एम्बुलेन्सको ठूलो भिड देखिएको थियो र अधिकारीले प्रभावित परिवारको सहयोगका लागि विशेष हेल्पलाइन तथा स्वागत केन्द्र स्थापना गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू