बेलायती सेनामा युवाका लागि ‘ग्याप इयर’ योजना: सैन्य अनुभवको नयाँ अवसर



लन्डन । बेलायत सरकारले विद्यालय र कलेज सकेर बसेका युवाहरूलाई लक्षित गर्दै सशस्त्र बलमा ‘ग्याप इयर’ योजना सुरु गर्ने घोषणा गरेको छ।
यो कार्यक्रमअन्तर्गत युवाहरूले दीर्घकालीनरूपमा सेनामा रहने स्थायी प्रतिबद्धता नगरि बेलायती स्थल सेना, जलसेना (रोयल नेभी) वा वायुसेना (आरएएफ) मा भर्ती भएर सैन्य जीवनको अनुभव लिन पाउनेछन्।
सशस्त्र बलमा देखिएको भर्ना र जनशक्ति व्यवस्थापनको दीर्घकालीन समस्या सम्बोधन गर्न यो योजना ल्याइएको हो।
यो योजना अस्ट्रेलियामा विगत एक दशकभन्दा बढी समयदेखि सफलतापूर्वक सञ्चालन भइरहेको ‘ग्याप इयर’ कार्यक्रममा आधारित छ।
अस्ट्रेलियामा यस्तो कार्यक्रममा सहभागी हुने आधाभन्दा बढी युवा पछि स्थायी रूपमै सेनामा भर्ती हुने गरेका छन्। बेलायत सरकारले पनि यसै माध्यमबाट युवाहरूलाई सेनाप्रति आकर्षित गराउने र क्याडेट सङ्ख्या ३० प्रतिशतले बढाउने आशा राखेको छ।
२५ वर्ष मुनिका युवाहरूका लागि ल्याइएको यो कार्यक्रम आगामी वसन्त ऋतुदेखि १ सय ५० जना प्रशिक्षार्थीका साथ सुरु गरिनेछ। सरकारले भविष्यमा यो संख्या बढाएर वार्षिक एक हजार सम्म पुर्याउने लक्ष्य राखेको छ। यो एक सशुल्क कार्यक्रम हुनेछ, जसमा सहभागी हुने युवाहरूले पारिश्रमिक पाउनेछन्।
यद्यपि, तलबको विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन। रक्षा मन्त्रालयका अनुसार सहभागीहरूलाई नेतृत्व, टिमवर्क र समस्या समाधान गर्ने जस्ता अत्यावश्यक सीपहरू सिकाइनेछ।
यो कार्यक्रममा सहभागी हुने युवाहरूलाई प्रत्यक्ष सैन्य कारबाही वा युद्धमा भने परिचालन गरिने छैन। स्थल सेनाको योजना अनुसार प्रशिक्षार्थीहरूले तेह्र हप्ताको आधारभूत तालिम प्राप्त गर्नेछन्।
रक्षा मन्त्री जोन हेलीले यो योजनाले युवाहरूलाई भविष्यका लागि “अद्भुत सीप र तालिम” प्रदान गर्ने बताएका छन्। उनले यसलाई सरकारको ‘सम्पूर्ण समाजको सुरक्षा दृष्टिकोण’ को एक हिस्सा भन्दै रुस जस्ता देशहरूबाट हुन सक्ने सम्भावित खतराहरूको सामना गर्न देशलाई तयार राख्ने रणनीतिका रूपमा व्याख्या गरेका छन्।
यद्यपि, विपक्षी कन्जरभेटिभ पार्टीले भने यस योजनाको आलोचना गरेको छ। १ सय ५० जनाबाट सुरु गरिने भनिएको यो संख्या अत्यन्त न्यून भएको र यसले देशको युद्ध तयारीमा खासै ठूलो प्रभाव नपार्ने उनीहरुको टिप्पणी छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



