चुनाव हारेर पनि राजनीतिमा अड्किने कि नयाँ पेशा रोज्ने ? बेलायतबाट सिक्नुपर्ने पाठ


लन्डन । नेपालको राजनीतिक वृत्तमा चुनावी हारलाई अक्सर प्रतिष्ठाको लडाइँ र अस्तित्वको संकटका रूपमा लिइन्छ। विशेषगरी हालै सम्पन्न विभिन्न दलका आन्तरिक र सार्वजनिक निर्वाचनमा पराजित भएका नेताहरूमा एउटा साझा मनोविज्ञान देखिन्छ, जुन हो राजनीति बाहेक अर्को संसार नदेख्ने । तर, यसै सन्दर्भमा बेलायती शिक्षा प्रणाली र व्यक्तिगत जीवनका अनुभवहरूलाई जोडेर नेपाली राजनीतिमा ‘एक्जिट पोलिसी’ अर्थात् सन्यास र नयाँ सुरुवातबारे एउटा गम्भीर बहस आवश्यक छ ।
बेलायतको शैक्षिक प्रणालीले मानिसलाई सानै उमेरमा आफ्नो क्षमताको पहिचान गराउँछ। यहाँ १६ वर्षको उमेरमा हुने माध्यमिक शिक्षा (जिसीएसइ) पछि सबै विद्यार्थीहरू जबर्जस्ती विश्वविद्यालय जाँदैनन्। विषयगत रूपमा प्रतिभावानहरू मात्र ‘ए लेभल’ र उच्च शिक्षाको बाटो रोज्छन् भने मध्यम क्षमता भएका वा अन्य रुचि भएकाहरू सोही उमेरमा विभिन्न प्राविधिक सीप सिकेर आत्मनिर्भर बन्नतिर लाग्छन्। त्यहाँ न शिक्षकले दबाब दिन्छन्, न अभिभावकले नै। बरु, विद्यार्थीले आफ्नो क्षमता जहाँ सकिन्छ, त्यहीँबाट इमानदारीपूर्वक नयाँ मोड लिन्छन्।
दुर्भाग्यवश, नेपालको राजनीतिमा भने ठ्याक्कै उल्टो प्रवृत्ति छ। कार्यकर्ताले नरुचाएको वा जनताले अस्वीकार गरेको अवस्थामा पनि नेताहरू वर्षौँसम्म पदमा झुण्डिरहन्छन्।
आफ्नो सान्दर्भिकता सकिएको स्वीकार्नुको साटो अरूका लागि ‘भर्याङ’ मात्र बनेर बस्नुले न व्यक्तिको हित गर्छ, न संगठनको । राजनीतिलाई एक मात्र पेशा बनाउँदा पराजयपछि उत्पन्न हुने रिक्तताले मानिसलाई झनै निराश बनाउने विज्ञहरूको तर्क छ।
यस सन्दर्भमा सैन्य सेवादेखि सफ्टवेयर विकास, शिक्षण, बैंकिङ र कन्सल्टिङसम्मका आधा दर्जन पेशा सम्हालेर सेवानिवृत्त भएको मेरो अनुभवले के सिकाउँछ भने एउटै क्षेत्रमा मात्र लामो समय टाँसिएर बस्नुपर्छ भन्ने छैन् । राजनीतिमा लागेका व्यक्तिहरूले पनि उमेरको पर्वाह नगरी नयाँ सीप सिक्न र अर्को पेशा अंगाल्न सक्नुपर्छ। चाहे त्यो व्यावसायिक कृषि होस्, लेखन होस्, परामर्श सेवा होस् वा कुनै सामाजिक उद्यम— नयाँ बाटो रोज्नु नै बहादुरी हो।
राजनीतिमा ’रिटायर्ड लाइफ’ हुँदैन भन्ने भाष्यलाई चिर्दै जब जनता वा कार्यकर्ताले विकल्प खोज्छन्, तब आफूले पनि नयाँ विकल्प रोज्नुपर्छ। चुनावमा असफल हुनु भनेको जीवनको अन्त्य होइन, बरु यो त अर्कै क्षेत्रमा सफल हुने नयाँ ढोका खुल्नु हो। त्यसैले चुनावी परिणामलाई सहज रूपमा लिएर राजनीति बाहिरको विशाल संसारमा आफ्नो पहिचान बनाउन लाग्नु नै वर्तमान समयको बुद्धिमानी हुने देखिन्छ ।
(लन्डनवासी लेखक भोज राजसंग सफ्टवेयर विकास, शिक्षण, बैंकिङ र कन्सल्टिङ क्षेत्रमा पनि काम गरेको अनुभव छ)
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५




