नाइजेरियामा आइएस लडाकूविरुद्ध अमेरिकाको ‘शक्तिशाली र घातक’ सैन्य आक्रमण



पामबिच (संयुक्त राज्य अमेरिका), पुस ११ गते । राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा इसाई समुदायमाथि भइरहेको कुनै पनि प्रणालीगत आक्रमणप्रति कडा चेतावनी दिएको केही हप्तापछि अमेरिकी सेनाले क्रिसमसको दिन इस्लामिक स्टेट (आइएस) समूहका लडाकूविरुद्ध ‘शक्तिशाली र घातक’ सैन्य आक्रमण सुरु गरेको छ ।
नाइजेरियाको विदेश मन्त्रालयले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा उक्त हवाई आक्रमणको पुष्टि गर्दै यसलाई देशभित्रका ‘आतङ्कवादी लक्ष्यमा गरिएको सटीक आक्रमण’ भनेर वर्णन गरेको छ । मन्त्रालयका अनुसार यो कारबाही नाइजेरियाको अनुरोध र अन्तर्राष्ट्रिय साझेदारीको सन्दर्भमा सम्पन्न भएको हो ।
अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको युएस अफ्रिका कमान्डले इस्लामिक स्टेट समूहको संक्षिप्त नाम प्रयोग गर्दै नाइजेरियाली अधिकारीको अनुरोधमा सोकोटो राज्यमा गरिएको आक्रमणमा ‘धेरै आइएसआइएस आतङ्कवादी’ मारिएको जनाएको छ । तर कति जना मारिए भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
राष्ट्रपति ट्रम्पले यस आक्रमणबारे प्रतिक्रिया दिँदै आफूले यसअघि नै ती आतङ्ककारीलाई इसाईको हत्या रोक्न चेतावनी दिएको स्मरण गराउनुभएको छ । ट्रम्पले भन्नुभएको छ, “यदि उनीहरूले इसाईको हत्या रोकेनन् भने नरक देख्नेछन् भनेको थिएँ र आज राति त्यही भयो ।”
उहाँले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेख्नुभएको छ, “मारिएका आतङ्ककारीसहित सबैलाई मेरी क्रिसमस । यदि इसाईको हत्या जारी रह्यो भने अझ धेरै कारबाही हुनेछन् ।”
यसैबीच, अमेरिकी रक्षा अधिकारीलेपछि अमेरिकी झण्डा फहराइरहेको युद्धपोतको डेकबाट रातको समयमा क्षेप्यास्त्र प्रक्षेपण भएको जस्तो देखिने भिडियो सार्वजनिक गरेका छन् । ट्रम्पको नेतृत्वमा नाइजेरियामा अमेरिकी सेनाले गरेको यो पहिलो प्रत्यक्ष सैन्य आक्रमण हो । यसअघि अक्टोबर र नोभेम्बर महिनामा रिपब्लिकन नेताका रूपमा ट्रम्पले नाइजेरियामा इसाईले ‘अस्तित्वको खतरा’ सामना गरिरहेको भन्दै त्यहाँका असङ्ख्य सशस्त्र द्वन्द्वलाई ‘नरसंहार’ का रूपमा व्याख्या गर्नुभएको थियो ।
उक्त कूटनीतिक टिप्पणीलाई केहीले स्वागत गरे पनि अरूले भने अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा धार्मिक तनाव भड्काउन सक्ने भन्दै आलोचना गरेका थिए । नाइजेरियाले विगतमा साम्प्रदायिक हिंसाका गम्भीर घटना भोग्दै आएको छ । नाइजेरियाको सरकार र स्वतन्त्र विश्लेषकले भने देशमा भइरहेको हिंसालाई केवल धार्मिक उत्पीडनको रूपमा चित्रण गर्न अस्वीकार गर्दै आएका छन् ।
उनीहरूका अनुसार यस्तो व्याख्या संयुक्त राज्य अमेरिका र युरोपका केही इसाई अधिकार समूहले लामो समयदेखि अघि सारेको कथासँग मेल खान्छ । यद्यपि, ट्रम्पको प्रशासनले विश्वव्यापीरूपमा इसाई समुदायमाथि उत्पीडन भइरहेको दाबी गर्दै गत महिना यस्ता हत्याको प्रतिकार गर्न नाइजेरियामा सैन्य कारबाही गर्न वासिङ्टन तयार रहेको स्पष्ट पारेको थियो ।
नाइजेरियाको विदेश मन्त्रालयले देश अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गरिरहेको जानकारी दिएको छ । मन्त्रालयले भनेको छ, “नाइजेरियाका अधिकारी आतङ्कवाद र हिंसात्मक चरमपन्थको निरन्तर खतरालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकासहित अन्तर्राष्ट्रिय साझेदारसँग संरचित सुरक्षा सहकार्यमा संलग्न छन् ।”
पेन्टागन प्रमुख पिट हेग्सेथले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ‘नाइजेरियाली सरकारको समर्थन र सहयोगका लागि आभारी’ भएको उल्लेख गर्नु भएको छ । संयुक्त राज्य अमेरिकाले यस वर्ष नाइजेरियालाई धार्मिक स्वतन्त्रताका सन्दर्भमा ‘विशेष चिन्ता’ को देशको सूचीमा पुनः राखेको छ र नाइजेरियाली नागरिकलाई भिसा जारी गर्ने प्रक्रियामा प्रतिबन्ध लगाएको छ ।
गत महिना ट्रम्पले अबुजालाई इसाईको हत्या रोक्न असफल भए सबै सहयोग बन्द गरिने चेतावनी दिनुभएको थियो । नाइजेरिया करिब समानरूपमा मुस्लिम बहुल उत्तर र मुख्यतः इसाई बहुल दक्षिण भागमा विभाजित छ । देशको उत्तरपूर्वी क्षेत्रमा इस्लामवादी बोको हराम समूहले १५ वर्षभन्दा बढी समयदेखि हिंसा फैलाउँदै आएको छ, जसका कारण ४० हजारभन्दा बढी मानिसको ज्यान गएको र करिब २० लाख मानिस विस्थापित भएका छन् ।
त्यसै गरी, उत्तरपश्चिम, उत्तर र केन्द्रीय नाइजेरियाका ठूला भागमा ‘डाकु’ भनेर चिनिने आपराधिक गिरोह सक्रिय छन् । ती समूहले गाउँमा आक्रमण, बासिन्दाको हत्या र अपहरण गर्ने गरेका छन् । यसै सन्दर्भमा बुधबार उत्तरपूर्वी सहर मैदुगुरीस्थित एक मस्जिदमा भएको विस्फोटमा कम्तीमा सात जना उपासकको मृत्यु भएको थियो । उक्त घटनाको जिम्मेवारी भने कुनै पनि सशस्त्र समूहले तत्कालै लिएको छैन ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



