सोमबार, १५ डिसेम्बर, २०२५
22:56 | ०४:४१

‘सहायता कटौती हुंदा शरणार्थीको पीडामा तस्कर र राजनीतिज्ञले खेले’

रासस डिसेम्बर १५, २०२५

जेनेभा । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

सहायता कटौती शरणार्थीहरूका लागि अनावश्यक अपमान भएको र यसका कारण उनीहरूको पीडामा तस्कर र राजनीतिज्ञहरूले खेलिरहेको एक वरिष्ठ अधिकारीले दावी गरेका छन् ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीले भने, “यो वर्ष विश्वका जबरजस्ती विस्थापितहरूका लागि लगातार सङ्कटहरूको विशेष आँधी रह्यो ।

सन् २०२५ को मध्यमा ११ करोड ७० लाख ३० हजार मानिस कुनै न कुनै रूपमा सहायताको आवश्यकतामा रहेको अनुमान गरिएको थियो।

ग्रान्डीले सुडान, युक्रेन, गाजा र म्यान्मामा गरिएको ‘व्यापक अत्याचार’ को निन्दा गर्दै सहायताको ‘अचानक, कठोर, गैरजिम्मेवार र अदूरदर्शी कटौती’ प्रति विश्व समुदाय र सङ्घसंस्थाको ध्यानाकर्षण गराए ।

सहायतामा एक्कासी भएको कटौतीले शरणार्थी जीवन बिताइरहेका मानिसहरूलाई अत्यधिक अनावश्यक पीडा दिएको पनि उनले दावी गरे ।

पछिल्लो दशकमा जबर्जस्ती विस्थापितहरूको सङ्ख्या झन्डै दोब्बर भएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्केपछि अन्तर्राष्ट्रिय सहायताका लागि गरिने रकममा कमी आएको छ ।

जेनेभामा द्विवार्षिक ‘विश्व शरणार्थी मञ्च प्रगति समीक्षा’ कार्यक्रम उद्घाटन गर्दै ग्रान्डीले घृणाले नश्लवादी विभाजन फैलाउने विश्वव्यापी सन्दर्भको निन्दा गरे ।

संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर) प्रमुख ग्रान्डीले भने, “यो वर्ष शरणार्थीहरूलाई बारम्बार गाली गरियो, धेरै ठाउँहरूमा बलिको बोको बनाइयो, उनीहरूको पीडालाई तस्करहरूले नाफाका लागि प्रयोग गरे र राजनीतिज्ञहरूले उनीहरूको अवस्थालाई भोट प्राप्त गर्न प्रयोग गरे ।”

जेनेभामा तीन दिने भेलामा एक हजार ८०० बढी सहभागी भेला भएका छन् र यसले विश्वभरका लाखौँ विस्थापित व्यक्तिहरूका लागि समाधान खोज्ने प्रयास गर्नेछ।

जेनेभास्थित यूएनएचसीआर अन्य धेरै संयुक्त राष्ट्रसङ्घीय निकायहरू जस्तै अन्तर्राष्ट्रिय सहायता कटौतीका कारण काम गर्न कठिनाई भोगिरहेको छ । यसले यस वर्ष करिब पाँच हजार रोजगारी गुमाएको छ, जुन यसको कार्यबलको एक चौथाइभन्दा बढी हो।

अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकालमा परम्परागत रूपमा विश्वको शीर्ष दाता संयुक्त राज्य अमेरिकाले ठूलो मात्रामा विदेशी सहायता कटौती गरेको छ। विश्व बढ्दो विस्थापनको समस्यासँग जुधिरहेको छ।

यूएनएचसीआरको आर्थिक सहयोग यस वर्ष ३५ प्रतिशतले कटौती गरिएको छ । यसअघि वासिङ्टनले युएनएचसीआरको बजेटको ४० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको थियो । अन्य प्रमुख दातृ राष्ट्रले पनि आफ्नो बजेटमा कडाइ गरिरहेका छन् ।

युएनएचसीआरको १० वर्षको नेतृत्वपछि ग्रान्डीले डिसेम्बर अन्त्यमा पद छोड्दै छन् । सन् २०१८ देखि २०२२ सम्म इराकी राष्ट्रपति रहेका ६५ वर्षीय बरहम सलेह शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घको उच्चायुक्तका रूपमा नियुक्त हुने भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू