मंगलबार, १८ नोभेम्बर, २०२५
21:59 | ०३:४४

शान्ति वार्तालाई ‘पुनर्जीवित’ गर्न जेलेन्स्की टर्की भ्रमणमा

रासस नोभेम्बर १८, २०२५

फाइल तस्विर- एपी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्तालाई ‘पुनर्जीवित’ गरी रुससँग थप युद्धबन्दी आदान–प्रदान गर्न बुधबार टर्कीको भ्रमण गर्ने बताएका छन् ।

यस वर्षको सुरुमा इस्तानबुलमा भएको रुस–युक्रेनको तीन चरणको वार्तामा कुनै सम्झौता नभए पछि वार्ता असफल भएको थियो । मस्कोले भने युद्धविरामलाई अस्वीकार गरी युक्रेनी सहरहरूमा निरन्तर बमबारी गरिरहेको छ ।

वार्तालाई पुनर्जीवित गर्ने तयारी गरिरहेको जनाउँदै जेलेन्स्कीले साझेदारहरूलाई प्रस्ताव गर्ने समाधानहरू विकास गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन् । उनले “पिओडब्लु” मार्फत युद्धबन्दीहरूलाई आदान–प्रदान गर्ने काम पनि गरिरहेको बताए ।

यस अघि कैदी आदान–प्रदान तथा मृत सैनिकहरूको शव फिर्ता गर्न गत मे–जुलाईको बीचमा इस्तानबुलमा रूसी र युक्रेनी प्रतिनिधिमण्डलहरूबीच सम्झौता भएको थियो ।

अन्तिम पटक कैदी आदान–प्रदान अक्टोबरको सुरुमा भएको थियो, जसमा मस्को र किभ प्रत्येकले १८५ कैदीहरू साटासाट गरेका थिए ।

जेलेन्स्कीको बयानमा रूसबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

गत हप्ता, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनमा युद्ध अन्त्य गर्न रुस “वार्ता प्रक्रियाका लागि खुला“ रहेको बताएका थिए । यद्यपि पछिल्लो समयमा रूसले हालसम्म कुनै योजना तथा प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

यस अघि बढ्दो रूसी दमन र व्याप्त भ्रष्टाचार घोटालाको बीचमा जेलेन्स्की युक्रेनी सेना र देशको बिग्रिएको ऊर्जा पूर्वाधारका लागि समर्थन जुटाउन युरोपेली भ्रमणमा थिए ।

उनले मङ्गलबार स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजलाई भेट्ने कार्यक्रम तय भएको छ । यस अघि उनले फ्रान्ससँगको सम्झौतामा हस्ताक्षर गरी किएभलाई सय वटा लडाकु जेट र ड्रोनसहितका सामाग्री प्राप्त गर्ने व्यवस्था मिलाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू