बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षमा निधन



मुम्बई । बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरू ले जनाएका छन्।
हिन्दी सिनेमाका दिग्गज अभिनेता तथा ‘ही-म्यान’ को उपनामले परिचित धर्मेन्द्र लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए ।
उनको निधनको खबरले सम्पूर्ण बलिउड जगत र उनका करोडौं प्रशंसकहरू शोकमा डुबेका छन्।
धर्मेन्द्र, जसलाई शटगन म्यान र गरम धरमको नामले पनि चिनिन्थ्यो, विगत केही दिनदेखि स्वास्थ्यसम्बन्धी समस्याहरूबाट गुज्रिरहेका थिए। यसअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो, तर परिवारको आग्रहमा नोभेम्बर १२ मा उनलाई डिस्चार्ज गरी घरमै उपचार भइरहेको थियो।
डिसेम्बर ८ मा आफ्नो ९०औं जन्मदिन मनाउन ठिक १४ दिनअघि उनी संसारबाट विदा भएका हुन्। अभिनेता धर्मेन्द्रको अन्तिम संस्कार मुम्बईको विले पार्लेस्थित पवन हंस श्मशान भूमिमा गरिएको छ।
अन्तिम बिदाइका लागि उनको सम्पूर्ण परिवार – श्रीमती हेमा मालिनी, प्रकाश कौर, छोराहरू सन्नी देओल, बबी देओल, छोरीहरू ईशा देओल, आहना देओल, साथै बलिउडका धेरै हस्तीहरू जस्तै अमिताभ बच्चन पनि आँखामा आँसु लिएर उपस्थित भएका थिए।
सन् १९६० मा ‘दिल भी तेरा हम भी तेरे’ बाट बलिउडमा कदम राखेका धर्मेन्द्रले ६ दशक लामो आफ्नो शानदार करियरमा ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। ‘शोले’, ‘यादोँ की बारात’, ‘चुपके चुपके’, ‘मेरा गाउँ मेरा देश’, ‘सत्यकाम’, ‘धरम वीर’ जस्ता थुप्रै सुपरहिट फिल्महरूमा उनले अभिनय गरेका छन्।
उनले सन् २०१२ मा भारत सरकारबाट तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म भूषण बाट सम्मानित भएका थिए।
उनको अन्तिम फिल्म ‘इक्कीस’ हुनेछ, जुन २५ डिसेम्बर २०२५ मा रिलिज हुने तयारीमा छ। धर्मेन्द्रको निधनसँगै हिन्दी सिनेमाको एउटा स्वर्णिम युगको अन्त्य भएको छ।


