मंगलबार, ११ नोभेम्बर, २०२५
02:04 | ०७:४९

ब्रेन्ट सिभिक रिमेम्बरेन्स सर्भिसमा तमु समाज यूकेको सहभागिता

नेपाली लिङ्क नोभेम्बर १०, २०२५

लन्डन । लन्डन बरो अफ ब्रेन्टद्वारा क्वीन एलिजाबेथ गार्डेन, बरहाम पार्क, वेम्बलीमा आयोजित ब्रेन्ट सिभिक रिमेम्बरेन्स सर्भिस २०२५ मा तमु समाज यूकेले उत्साहजनक सहभागिता जनाएको छ।

९ नोभेम्बर आइतबार दिउसो ठिक १ः ५० बजे आयोजित उक्त समारोहमा आर्मी, नेभी, एअरफोर्स र पुलिस क्याडेटहरू, सेन्ट जोन्स एम्बुलेन्स, रोयल ब्रिटिश लिजन वेम्बली र सडबरी शाखा, स्काउट, ब्रिटिश गोर्खा नेपाली एसोसिएसन लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि र रेजेन्ट ब्रास ब्याण्डका साथमा तमु समाज यूकेका ब्रिटिश गोर्खा भूतपूर्व सैनिक (भेट्रान) हरूले पनि परेडमा सहभागिता जनाए ।

परेडको कमाण्ड रोयल एयर फोर्सका फ्लाइट लेफ्टिनेन्ट जितेन्द्र गुरुङले गरेका थिए।

डीन अफ ब्रेन्ट, रेवरेन्ड सोफी शुइल–ब्रेवरद्वारा सञ्चालित रिमेम्बरेन्स सर्भिसमा डेपुटी लेफ्टिनेन्ट पुरस्कार निबन्ध प्रतियोगिता २०२५ मा प्रथम र द्वितीय स्थान हासिल गर्ने विद्यार्थीहरूले आफ्ना निवन्ध वाचन गरेका थिए।

कार्यक्रममा राष्ट्रका लागि विभिन्न युद्धमा जीवन बलिदान गर्ने वीर सैनिकहरूको सम्मानमा नागरिक प्रार्थना, ट्रम्पेट लास्ट पोस्ट धुन, एक मिनेट मौन धारण, रेभाली धुन तथा बेलायतको राष्ट्रिय गान बजाइएको थियो।

स्मृति समारोहमा प्रमुख अतिथिले मन्तव्य दिएपछि प्रमुख अतिथि, ब्रेन्टका मेयर, अन्य विशिष्ट व्यक्तित्वहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूद्वारा बरहाम पार्कस्थित युद्ध स्मारकमा रिथ  अर्पण गरिएको थियो ।

तमु समाज यूकेका तर्फबाट अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घलेले रिथ अर्पण गरेकी थिइन्।

कार्यक्रमको अन्त्यमा रेजेन्ट ब्रास ब्याण्डको धुनसहित परेड मार्चपास्ट गरी ब्रेन्ट सिभिक रिमेम्बरेन्स सर्भिस औपचारिक रूपमा सम्पन्न गरिएको थियो।

रिमेम्बरेन्स सर्भिसपछि करि लन्च 

रिमेम्बरेन्स सर्भिस समाप्त भएपछि तमु समाज यूकेले प्रमुख अतिथि तथा ब्रेन्ट काउन्सिलका विशिष्ट अतिथिहरूको सम्मानमा बरहाम पार्कस्थित तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टरमा करि लन्च कार्यक्रम गरयो ।

करि लन्च कार्यक्रममा डेपुटी लेफ्टिनेन्ट मिई सिम लाई ओबीइ, मेयर अफ ब्रेन्ट काउन्सिलर रयान ह्याक, काउन्सिल लिडर काउन्सिलर मोहमेद बट, सांसदद्वय बेरी गर्डिनर र डन बट्लर साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय काउन्सिलर, तमु समाज यूकेका पदाधिकारी, सल्लाहकार, सदस्य तथा आमा–दिदीबहिनीहरूको उपस्थिति थियो ।

उक्त कार्यक्रम सञ्चालन निवर्तमान महासचिव धरम बल गुरुङले गरेका थिए । उनले हेल्थ एण्ड सेफ्टीसम्बन्धी जानकारी दिँदै अतिथिहरूलाई स्वागतसहित संस्थाको संक्षिप्त परिचय दिएका थिए ।

त्यसपछि प्रमुख अतिथि मिई सिम लाई ओबीइ डिएल, मेयर रयान ह्याक, सांसद डन बट्लर, काउन्सिल लिडर मोहमेद बट र सांसद बेरी गर्डिनरले मन्तव्य दिँदै तमु समाज यूकेले समुदायका लागि गर्दै आएको योगदानको प्रशंसा गरेका थिए ।

वक्ताहरूले गोर्खा सैनिकहरूले पहिलो र दोस्रो विश्वयुद्धमा बेलायतका लागि पुरयाएको अमूल्य योगदान स्मरण गर्दै तमु समाज यूकेको निरन्तर सामुदायिक सेवाको उच्च प्रशंसा गरे।
साथै, सन् २०१७ देखि तमु समाज यूकेले रिमेम्बरेन्स सर्भिसपछि निरन्तर रूपमा करि लन्च गर्ने परम्परा कायम राख्दै आएको उल्लेख गर्दै संस्थाप्रति आभार व्यक्त गरे।

त्यसैगरी, प्रमुख अतिथि डेपुटी लेफ्टिनेन्ट मिई सिम लाई ओबीइले तमु समाज यूकेले गत ८ नोभेम्बर शनिबार सिटी अफ लन्डनमा सम्पन्न “लेडी मेयरेस शो” मा ऐतिहासिक सहभागिता जनाई नेपाल र नेपाली समुदायको प्रतिनिधित्व गरेकामा प्रशंसा गरिन् ।

कार्यक्रमको अन्त्यमा तमु समाज यूकेकी अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घलेले सबै अतिथि र सहभागीलाई धन्यवाद ज्ञापन गरिन्।

त्यसपछि रारा क्याटरिङद्वारा तयार पारिएको स्वादिष्ट नेपाली करि लन्च सबैले ग्रहण गरे।

उपस्थित अतिथिहरूबीच आत्मीय भलाकुसारी तथा फोटो सेसनपछि अपराह्न ५ बजे सौहार्दपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

-शिव कुमार गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू