सोमबार, ३ नोभेम्बर, २०२५
05:58 | ११:४३

आर्थर डाँडाखर्क गाउँले गुमायो एक अभिभावक, मार्गदर्शक र प्रेरणाको स्रोत

नेपाली लिङ्क नोभेम्बर २, २०२५

लन्डन । अनरेरी क्याप्टेन लाल प्रसाद गुरुङको स्वर्गारोहण भएको तेस्रो दिनको पूण्यतिथिको अवसरमा २९ अक्टोबर बुधवार अल्डरसटस्थित बीसीसी गुम्बामा श्रद्धाञ्जलि सभा, दीप प्रज्ज्वलन तथा ‘सि म्हि कै दिने’ (भोजन अर्पण) पूजाआराधना गरिएको छ ।

गण्डकी प्रदेश, पर्वत जिल्ला, कुस्मा नगरपालिका–१४, आर्थर डाँडाखर्क गाउँ निवासी तथा पछिल्लो समय कास्की जिल्ला, पोखरा महानगरपालिका–८, सिमलचौरमा बसोबास गर्दै आउनु भएका आदरणीय दाजु, श्री पञ्चकोशी आर्थर डाँडाखर्क समाज पोखराका संस्थापक अध्यक्ष, महालक्ष्मी पैंगीलामा एकता परिवारका वरिष्ठ सल्लाहकार एवं प्रतिष्ठित समाजसेवी अनरेरी क्याप्टेन लाल प्रसाद गुरुङज्यू २०२५ अक्टोबर २६, आइतबारका दिन आफ्नै निवासमा ८७ वर्षको उमेरमा स्वर्गारोहण हुनुभएको दुःखद समाचारले सम्पूर्ण आर्थरवासी र महालक्ष्मी पैंगीलामा एकता परिवारका सदस्यहरू अत्यन्त मर्माहित र स्तब्ध भएका छन् ।

गुरुङ समुदायको परम्परा र धार्मिक आस्थाअनुसार स्वर्गीय गुरुङप्रति श्रद्धा र भक्तिभाव प्रकट गर्दै धर्मगुरुहरूको नेतृत्वमा पूजाआराधना, दीपप्रज्ज्वलन र भोजन अर्पणका विधिहरू विधिवत् रूपमा सम्पन्न गरियो ।

कार्यक्रम दिउँसो ४ बजे आरम्भ भएको थियो। बेलायतका विभिन्न स्थानबाट आएका आफन्त, इष्टमित्र, गुरुङ समुदायका प्रभुत्व ब्यक्तिहरु र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहँदा गुम्बाको वातावरण अत्यन्त श्रद्धामय बनेको थियो।

कार्यक्रमको प्रारम्भमा श्री पञ्चकोशी आर्थर डाँडाखर्क समाज यूकेका पूर्वअध्यक्ष तथा थाउजण्ड बुद्ध गुम्बा यूकेका अध्यक्ष मेजर समुन्द्र गुरुङले उपस्थित सबै सहभागीलाई स्वागत गर्दै गुम्बा परिसरको स्वास्थ्य तथा सुरक्षा (हेल्थ एण्ड सेफ्टी) सम्बन्धी जानकारी दिनुभयो। त्यसपछि स्वर्गीय अनरेरी क्याप्टेन लाल प्रसाद गुरुङप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिका लागि एक मिनेट मौनधारण गरियो ।

त्यसपश्चात् मेजर समुन्द्र गुरुङले स्वर्गीय गुरुङको संक्षिप्त जीवन परिचय प्रस्तुत गर्नुभयो। उहाँका अनुसार स्व. अनरेरी क्याप्टेन गुरुङले आफ्नो जीवन सेवा, समर्पण र नेतृत्वले भरिएको उदाहरणीय योगदानका साथ बिताउनुभएको थियो। उहाँले भारतीय सेनाको ५÷८ जी.आर. (गोर्खा राइफल्स) मा ३२ वर्षसम्म सेवा प्रदान गर्दै सुबेदार मेजरको गरिमामय जिम्मेवारी वहन गर्नुभएको थियो। सेवाकालमा उत्कृष्ट कार्य प्रदर्शनका कारण उहाँले ‘अनरेरी क्याप्टेन’को प्रतिष्ठित दर्जा प्राप्त गर्नुभएको थियो।

सेवानिवृत्त पश्चात पनि उहाँले गाउँ, समाज र देश विकासमा सक्रिय भूमिका खेल्नुभयो। वि.सं. २०५७ सालमा आर्थर डाँडाखर्क गाउँलाई सिद्धार्थ राजमार्गसँग जोड्ने मोटरबाटो निर्माण अभियानको संयोजकका रूपमा उहाँको योगदान ऐतिहासिक रह्यो। साथै, श्री पञ्चकोशी आर्थर डाँडाखर्क समाजका संस्थापक अध्यक्षका रूपमा समाजघर निर्माणमा उहाँको परिकल्पना, पहल र दूरदर्शिता प्रशंसनीय रह्यो।

पञ्चासे गुरुङ भ्यू टावरको परिकल्पना र सुरुवातमा उहाँले देखाउनुभएको समर्पणले गाउँ विकासको नयाँ गाथा लेखेको छ। त्यसैगरी गाउँको श्री पञ्चकोशी माध्यमिक विद्यालयमा प्लस टु तहको अध्ययन व्यवस्था विस्तार गर्ने उद्देश्यले उहाँकै नेतृत्वमा सहयोग समिति गठन गरिएको थियो, जसका कारण गाउँमै उच्च शिक्षाको अवसर सिर्जना भएको थियो।

मेजर समुन्द्र गुरुङले स्व. गुरुङको परिवारप्रतिको ममता, विशेष गरी दिदीबहिनीहरूप्रतिको उदारता र स्नेहपूर्ण व्यवहारको पनि स्मरण गर्दै उहाँको मानवीय पक्षको प्रशंसा गर्नुभयो।

कार्यक्रममा धर्मगुरु खेन्पो छिरिङ गुरुसहित अन्य धर्मगुरुहरूको नेतृत्वमा पूजाआराधना, मलम पाठ, दीपप्रज्ज्वलन तथा भोजन अर्पण सम्पन्न गरिएको थियो। खेन्पो छिरिङ गुरुले पूजाको प्रारम्भमा तेस्रो दिनको ‘सि म्हि कै दिने’ संस्कारको धार्मिक महत्त्वबारे प्रवचन गर्नुभएको थियो।

गुरुङ परम्परा अनुसार, मृत्युपछि आत्मा भौतिक शरीरबाट अलग भई अर्को लोकको यात्रामा निस्कन्छ भन्ने विश्वास रहिआएको छ । त्यसैले तेस्रो दिनलाई पवित्र मानेर आत्माको शान्ति र स्वर्गारोहणको कामना गर्दै भोजन, सुर, स्थानीय रक्सी, दाल–भात, दूध, फलफूल र दियो अर्पण गर्ने प्रथा रहिआएको छ । यसरी गरिएको अर्पण मृत आत्माको तृप्ति, उज्यालो र पुनर्जन्मको प्रतीकका रूपमा मानिन्छ।

उपस्थित आफन्तजन तथा समुदायका सदस्यहरूले दीपप्रज्ज्वलन र भोजन अर्पण गर्दै स्वर्गीय गुरुङको आत्माको चिरशान्तिका लागि हार्दिक प्रार्थना गरेका थिए।

कार्यक्रममा यूकेस्थित श्री पञ्चकोशी आर्थर डाँडाखर्क समाजका ज्येष्ठ नागरिकहरू, सदस्यहरू, छोरी–चेली, ज्वाईंहरू तथा विभिन्न समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। श्रद्धाञ्जलि अर्पण गर्न आएका शुभेच्छुक तथा समुदायका प्रतिनिधिहरूमध्ये तमुधिं यूकेका अध्यक्ष जुम काजी गुरुङ, तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिव कुमार गुरुङ, पञ्चासे समाज यूकेका अध्यक्ष नवराज गुरुङ, श्री पञ्चकोशी आर्थर डाँडाखर्क समाज यूकेका पूर्वअध्यक्षहरू कमल गुरुङ, क्याप्टेन (रिटायर्ड) पदम बहादुर गुरुङ, जंग बहादुर गुरुङ, उपाध्यक्ष कमल गुरुङ, कोषाध्यक्ष कमल गुरुङ तथा पञ्चासे हर्पन डाँडा समाजका महासचिव एवं गोर्खा मिडिया यूकेका सह–सम्पादक प्रकाश गुरुङ लगायत शुभचिन्तकहरू सहभागी थिए ।

कार्यक्रम समापनमा आयोजक परिवारका तर्फबाट मेजर समुन्द्र गुरुङले उपस्थित सबै आफन्त, इष्टमित्र र शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।

कार्यक्रम साँझ ६ बजे सम्पन्न भएको थियो। सम्पूर्ण आयोजनाको जिम्मेवारी स्वर्गीय गुरुङकी भान्जी श्रीमती ध्रुव गुरुङ र भाइ मेजर समुन्द्र गुरुङले सम्हालेका थिए। कार्यक्रमपछि पानस रेस्टुरेन्टद्वारा उपलब्ध गराइएको जलपान तथा साकाहारी भोजन व्यवस्था गरिएको थियो ।

स्वर्गीय लाल प्रसाद गुरुङले आफ्नी धर्मपत्नी श्रीमती रत्न कुमारी गुरुङ, दुई छोरी श्रीमती राधा गुरुङ र श्रीमती पशुपति गुरुङ, एक छोरा विजय गुरुङ, बुहारी श्रीमती इषा गुरुङ, ज्वाईंहरू पन्चकोशी आर्थर डाँडाखर्क समाज यूकेका संस्थापक अध्यक्ष समाजसेवी क्याप्टेन (रिटायर्ड) कृष्ण प्रसाद गुरुङ र अर्जुन गुरुङ साथै तीन नाति र चार नातिनीलाई छाडेर परलोक हुनु भएको छ ।

उहाँको असामयिक निधनले परिवार, आफन्त तथा सम्पूर्ण आर्थर डाँडाखर्क समुदायले एक असल अभिभावक, मार्गदर्शक र प्रेरणाका स्रोत गुमाएको महशुस गरेको छ । उहाँको योगदान, मूल्य र प्रेरणा सदा अमर रहनेछन्।

दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।

-शिव कुमार गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू