मंगलबार, २८ अक्टोबर, २०२५
15:57 | २१:४२

अमेरिकी प्रतिबन्धपछि रुसको लुकोइलद्वारा अन्तर्राष्ट्रिय सम्पत्ति बेच्ने घोषणा

रासस/एएनआई अक्टोबर २८, २०२५

मस्को । अमेरिकी प्रतिबन्धको दबाबपछि रूसको प्रमुख तेल कम्पनी लुकोइलले आफ्नो अन्तर्राष्ट्रिय सम्पत्ति बेच्ने निर्णय गरेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा सम्भावित खरिदकर्ताबाट बोलपत्र माग्ने प्रक्रिया सुरु गरिएको उल्लेख छ ।

रूसी राज्य मिडियाका अनुसार सम्पत्ति बिक्री प्रक्रिया अमेरिकी विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (अमेरिकी ओएफएसी) द्वारा जारी विन्डडाउन इजाजतपत्र अन्तर्गत सञ्चालन गरिने छ । कम्पनीले भन्यो, “केही राष्ट्रले लुकोइल र यसको सहायक कम्पनीविरुद्ध लगाएका प्रतिबन्धका कारण यो कदम आवश्यक भएको हो ।”

अमेरिकी ओएफएसीले कम्पनीलाई विदेशमा सञ्चालन बन्द गर्न वा अन्यथा भारी जरिवाना भोग्न नोभेम्बर २१ सम्मको समयसीमा दिएको छ । लुकोइलले आवश्यक परे इजाजतपत्र विस्तारका लागि आवेदन दिने योजना रहेको जनाएको छ ।

यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि तेल र ग्यास कम्पनी रोसनेफ्टसँगै लुकोइलमाथि प्रतिबन्ध लगाएको घोषणा गरेपछि आएको हो । ट्रम्प प्रशासनले यो कदमलाई ‘युक्रेनमा युद्ध अन्त्य गर्न रूसको गम्भीर प्रतिबद्धताको अभावको परिणाम’ भनेर व्याख्या गरेको थियो ।

अमेरिकी अर्थ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “यी प्रतिबन्धले रूसको ऊर्जा क्षेत्रमा थप दबाब सिर्जना गर्नेछन् र क्रेमलिनको युद्धका लागि राजस्व बढाउने क्षमतालाई कमजोर पार्ने छन् ।” अर्थमन्त्री स्कट बेसेन्टले भने, “यो युद्ध रोक्ने र तत्काल शान्ति स्थापना गर्ने समय हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न अस्वीकार गरेकाले हामीले क्रेमलिनको युद्ध मेसिनलाई आर्थिकरूपमा पोषण गर्ने दुई ठुला तेल कम्पनीमा प्रतिबन्ध लगाएका हौँ । आवश्यकता परे थप कारबाही गर्न तयार छौँ ।”

यसै क्रममा, वासिङ्टनले रूसी संस्थासँग कारोबार गर्ने कम्पनीलाई एक महिनाभित्र सम्बन्ध तोड्न चेतावनी दिएको छ । अन्यथा ती कम्पनीलाई अमेरिकी बैँक, व्यापारी, ढुवानी र बिमा सेवामा पहुँच नदिने चेतावनी दिइएको छ । लुकोइल रूस र विदेशमा तेल तथा ग्यासको अन्वेषण, उत्पादन, शोधन, वितरण र विपणनमा संलग्न छ ।

अमेरिकी अर्थ मन्त्रालयले कम्पनीका सहायकलाई ‘एक्जिक्युटिभ अर्डर १४०२४’ अन्तर्गत रूसको ऊर्जा क्षेत्रमा सञ्चालन गर्ने कारण निर्दिष्ट गरेको छ । यी सहायक कम्पनीमा लुकोइल पर्म, लुकोइल वेस्ट साइबेरिया लिमिटेड, लुकोइल कालिनिनग्रादमोर्नेफ्ट, उरालोइल र रूसी इन्नोभेसन इन्धन तथा ऊर्जा कम्पनी समावेश छन् । यिनीहरूले भूगर्भीय अन्वेषणदेखि तेल र ग्यास उत्पादन तथा प्रविधि विकाससम्मका कार्य गर्छन् ।

लुकोइलले भनेको छ, “हामी आफ्नो अन्तर्राष्ट्रिय सम्पत्तिको निरन्तर सञ्चालन सुनिश्चित गर्न प्रतिबद्ध छौँ र शान्तिपूर्ण समाधानका लागि आवश्यक सबै कानुनी बाटो अपनाउने छौँ ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू