एनआरएनए दुई समूह एकतानजिक, मिलेरै एनआरएनए दिवस मनाउने तयारी



लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) मा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई समूह एकता नजिक पुगेका छन्।
पछिल्लो समय भएका चरणबद्ध छलफलहरुपछि दुवै समूह एकताको लागि राजी भएका र एकता ‘मोडालिटी’ बारे छलफल शुरु भएको जनाइएको छ।
शुक्रबार नै दुई समूहबीच एकताको सहमति टुङ्ग्याएर शनिबार अक्टोबर ११ मा दुवै समूहले संयुक्त रूपमा एनआरएनए दिवस मनाउने तयारी समेत गरिएको छ।
पछिल्ला दिनमा दुबै समूहबीच निरन्तर संवाद हुँदै आएकोमा बिहीबार राति काठमाडौंको ठमेलमा भएको बैठकमा एकता गर्ने सहमति भएको स्रोतले जनाएको छ।
बैठकमा दुबै नेताले आफ्नो–आफ्नो कार्यसमितिबाट पूर्ण अधिकार लिने र पुनः बैठक बसेर एकताको मोडालिटीलाई अन्तिम रुप दिने सहमति गरिएको छ।
‘अहिले एकताको मोडालिटीबारे छलफल जारी छ। तर सुखद पक्ष यो हो कि दुवै पक्ष एकताका लागि सहमत भइसकेका छन्,’ एकताको पहल गर्नेमध्ये एक एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालीलिंकसँग भने।
अन्तिम टुंगो लाग्न बाँकी रहेपनि दुवै समितिलाई मान्यता दिँदै आगामी ३ देखि ६ महिनाभित्र एकता महाधिवेशन गर्ने प्रस्तावमा छलफल भइरहेको जनाइएको छ।
एकताको सहमति गरी शुक्रबार नै दुई समूहले संयुक्त वक्तव्य जारी गर्ने र मिलेरै शनिबार एनआरएनए दिवस मनाउने तयारी गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



