शुक्रबार, १० अक्टोबर, २०२५
13:20 | १८:०५

मन्त्रिपरिषद् घोषणा गरेको १४ घण्टामै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा

एजेन्सी अक्टोबर ६, २०२५

लण्डन । फ्रान्सका नवनिर्वाचित प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सोमबार राजीनामा दिएका छन्। २७ दिनअघि मात्रै प्रधानमन्त्री भएका लेकोर्नुले आफ्नो मन्त्रिपरिषद्को घोषणा गरेको केही घन्टापछि नै राजीनामा दिएका हुन्।

जम्मा १४ घन्टा मात्रै टिकेको उनको मन्त्रीमण्डल आधुनिक फ्रान्सको इतिहासमा सबैभन्दा कम समय टिक्ने सरकार बनेको छ।

उनको राजीनामा अप्रत्याशित थियो र यसले फ्रान्सको राजनीतिक संकटलाई थप गहिरो बनाएको समाचार संस्था रोयटर्सले जनाएको छ। उनका समर्थक र विरोधी दुवैले नयाँ सरकारलाई गिराउने धम्की दिएपछि उनले यस्तो कदम चालेको बताइएको छ।

उनको राजीनामा पछि उग्र-दक्षिणपन्थी नेशनल र्‍याली दलले राष्ट्रपति इमानुयल म्याक्रोंलाई तत्काल संसदीय चुनाव आह्वान गर्न आग्रह गरेको छ। उग्र-वामपन्थी फ्रान्स अनबाउडले त म्याक्रों आफैले राजीनामा दिनुपर्ने माग गरेको छ।

नयाँ मन्त्रिपरिषद्को गठनले विरोधीहरूलाई क्रुद्ध बनायो। म्याक्रोंका नजिकका सहयोगी लेकोर्नुले सबै राजनीतिक दलहरूसँग हप्तौंको परामर्शपछि आइतबार आफ्ना मन्त्रीहरू नियुक्त गरेका थिए। उनीहरूले सोमबार दिउँसो आफ्नो पहिलो बैठक गर्ने तयारी गरेका थिए ।

तर, नयाँ मन्त्रिपरिषद्को गठनले समर्थक र विरोधी दुवैलाई क्रुद्ध बनायो। कसैलाई यो धेरै दक्षिणपन्थी लाग्यो भने कसैलाई पर्याप्त दक्षिणपन्थी नभएको महसुस भयो। जसले गर्दा खण्डित संसदमा कुनै पनि समूहको बहुमत नभएको अवस्थामा यो सरकार कति लामो टिक्ला भन्ने प्रश्न उठ्यो।

यस्तो माहोलमा लेकोर्नुले सोमबार बिहान म्याक्रोंलाई आफ्नो राजीनामा बुझाएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू