विदेशमा रहेका नेपालीलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध




जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन
काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीहरूलाई भौतिक पूर्वाधार पुनर्निर्माणका लागि खोलिएको सरकारी कोषमा सहयोग गर्न अपिल गरेको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन तथा संरचनाहरु पुनर्निर्माणका लागि विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूले विदेशमा रहेका नेपालीलाई कोषमा सहयोग गर्न अनुरोध गरेका हुन्।
जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, अदालत, प्रहरी चौकी लगायतका सरकारी संरचनामा आगजनी तथा तोडफोड गरिएको थियो। धेरै सरकारी कार्यालयहरू जलेर पूर्ण रूपमा ध्वस्त बनेका छन्।
भौतिक पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण गर्न गत असोज ५ गते बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गरेको थियो। सोही अनुसार पुनर्निर्माणका लागि सरकारले पुनर्निर्माण कोष खडा गरेको थियो।
अर्थ मन्त्रालयले भौतिक क्षतिको पुनर्निर्माण गर्न उक्त कोषमा सहयोग गर्न स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई अनुरोध गरेको थियो। सोही अनुसार विदेशस्थित नेपाली नियोग तथा दूतावासहरूले कोषमा सहयोग गर्न विदेशमा रहेका नेपालीहरूलाई अनुरोध गरेका हुन्।
कतारस्थित नेपाली राजदूतावास, कुवेतस्थित नेपाली राजदूतावास, नेपाली राजदूतावास इजरायल लगायतले सूचना जारी गरी आफ्नो तर्फबाट सहयोग गरि राष्ट्रको पुनर्निर्माण महाअभियानमा सहभागी हुन अनुरोध गरेका छन्।
त्यस्तै विदेशमा रहेका नेपालीहरूले समेत कोषमा सहयोगार्थ विभिन्न कार्यक्रम आयोजना गर्न थालेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मातृभूमिप्रतिको दायित्व र कर्तव्य भएको बताउँदै कोषमा सहयोग गर्न अनुरोध गरेको छ।
अध्यक्ष महेशकुमार श्रेष्ठले एक सूचना जारी गर्दै भूकम्प, बाढी र अन्य संकटका बेला एनआरएनले सहयोग गर्दै आएको जनाउँदै देशलाई संकट परेको बेला सहयोग गर्न अनुरोध गरेका हुन्।
‘एनआरएनए नेपाल पुनर्निर्माण अभियान’ मार्फत राष्ट्र पुनर्निर्माण, प्रशासनिक सेवा पुनर्स्थापना र सुरक्षा सुनिश्चित गर्नका लागि योगदान गर्न अनुरोध गरिएको हो। हरेक देशमा रहेका एनआरएन समुदायलाई सहयोग गरी यस मिसनलाई सफल बनाउन समेत अनुरोध गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५