बिहीबार, २३ अक्टोबर, २०२५
19:22 | ००:०७

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन गृहमन्त्रीलाई ज्ञापन पत्र

नेपाली लिङ्क सेप्टेम्बर २७, २०२५

काठमाडौं । प्रवासी नेपाली अभियन्ताले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था मिलाउन माग गरेका छन्।

गृहमन्त्री ओमप्रकाश अर्याललाई आज मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपाली अभियन्ताले विदेशमा रहेका नेपालीहरूलाई सजिलै मतदाता दर्ता गर्ने र विश्वभरबाटै मतदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन्।

अमेरिका निवासी नेपाली अभियन्ता रमेश भट्टले शुक्रबार गृहमन्त्री अर्याललाई भेट गरी ज्ञापन पत्र बुझाएका छन्।

भेटमा अभियन्ता भट्टले ‘हाल नेपालकै नम्बरमार्फत् मात्र एकपटक प्रयोग हुने पासवर्ड (ओटिपी) प्राप्त गरेर मतदाता नामावली दर्ता गर्नुपर्ने प्रणालीले लाखौँ प्रवासी नेपालीलाई निर्वाचनमा सहभागिता हुन हतोत्साहित गर्ने सम्भावना भएकाले विदेशी नम्बर वा इमेलमार्फत् पनि एकपटक प्रयोग हुने पासवर्ड (ओटिपी) उपलब्ध हुने व्यवस्था मिलाइ सहज बनाउन’ अनुरोध गरेका थिए।

साथै, अमेरिकामा रहेका नेपालीहरूले ३ वटा कन्सुलेट अफिस र १ वटा दूतावासमार्फत् मतदान गर्न सक्ने व्यवस्था मिलाउन सकिने सुझाव प्रस्तुत गरिएको छ। यस अभियान सफल बनाउन एनआरएनए र विभिन्न नेपाली सामुदायिक संस्थाहरूले सचेतना फैलाउने, दूतावास/कन्सुलेटसँग सहकार्य गर्ने र मतदाता नामावली दर्ता अभियानमा सहयोगी भूमिका खेल्ने ज्ञापनपत्रमा उल्लेख छ।

नेपाली अभियन्ताले गृहमन्त्रीको सकारात्मक पहललाई धन्यवाद दिँदै यो एजेन्डाबाट पछि नहट्न पनि आग्रह गरेका थिए।

भट्टले नेपाली डायस्पोरा यस अभियानलाई सहयोग गर्न सधैं तयार रहेको स्पष्ट पारेका थिए। ‘विदेशमा रहेका लाखौँ नेपाली विद्यार्थी, श्रमिक, व्यवसायी तथा पेशेवरहरूलाई सुरक्षित, सहज र सम्मानजनक ढंगले मतदान गर्ने अधिकार सुनिश्चित गर्नु अब ढिलो गर्न नहुने राष्ट्रिय दायित्व हो,’ भट्टले भने।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू