एनआरएनए अध्यक्ष केसी र प्रधानमन्त्री कार्कीबीच भेटघाट



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर उक्त प्रतिबद्धता जनाएको हो ।
विश्वभरिका गैरआवासीय नेपालीहरु नेपाललाई समृद्ध बनाउन जुनसुकै किसिमको सहयोगका लागि प्रतिबद्ध रहेको भन्दै अध्यक्ष केसीले आन्दोलनका क्रममा देशमा भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पुनः निर्माणका लागि र मुलुकको कठिन घडीलाई सम्बोधन गर्न संघ सदैव सरकारसँग हातेमालो गर्न तत्पर रहेको बताए ।
उनले भने, ‘मुलुकको जटिल परिस्थितिमा विदेशमा रहेका नेपालीहरुले मातृभूमिलाई आर्थिक रुपमा सबल र समृद्ध बनाउन सक्ने अपार सम्भावना बोकेका छन् । उनीहरुको पुँजी, सीप, अनुभव र ज्ञानलाई संस्थागत ढंगले प्रयोग गर्न सकिने व्यवस्था मिलाउन सके मुलुकको समृद्धिको यात्रा सहज हुनेछ ।’
जवाफमा प्रधानमन्त्री कार्कीले राष्ट्र पुनर्निर्माणका लागि विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गरिन् । पुनर्निर्माणका लागि नेपाली र गैरआवासीय नेपालीहरुसँग मात्रै सहयोग लिने र अपुग भए मात्रै विदेशबाट सहयोग लिने उनले स्पष्ट पारिन् । उनले मुलुकमा आर्थिक समृद्धिका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्न समेत आग्रह गरिन् ।
उक्त भेटमा अध्यक्ष डा केसीले ‘एक पटकको नेपाली सदैव नेपाली’ भन्ने मूल उद्देश्य अनुरुप संविधान संशोधनमार्फत गैर आवासीय नेपालीहरुलाई वंशजको नागरिकता निरन्तरतासहितको नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न र आर्थिक, सामाजिक एवं सांस्कृतिक अधिकार प्रयोजन सहज रूपमा प्रत्याभूत गर्न अनुरोध गरे ।
अब हुने ऐतिहासिक निर्वाचनमा विदेशमा रहेका नेपालीहरुका लागि मताधिकार सुनिश्चित गर्न समेत केसीले अनुरोध गरे । यसका साथै गैरआवासीय नेपाली संघको १२ औँ महाधिवेशन आगामी ६ महिनाभित्रै गर्न लागिएको जानकारी समेत गराएका थिए ।
प्रधानमन्त्री कार्कीले संघले मताधिकार लगायत अन्य मागलाई सकारात्मक रुपमा लिएको तथा आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाइने जानकारी दिइन् ।
उक्त अवसरमा महिला उपाध्यक्ष रोजिना प्रधान राई र संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको पनि उपस्थिति थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५