आइतबार, १४ सेप्टेम्बर, २०२५
00:13 | ०४:५८

जेन जी मागप्रति जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनको ऐक्यबद्धता

नेपाली लिङ्क सेप्टेम्बर १३, २०२५

तस्विर- एएफपी

अमेरिका—जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले  सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि ‘जेन जी’ भनिने युवा पुस्ताले गरेको माग जायज भएको बताएको छ।  

फाउन्डेशनका अध्यक्ष डा यादव पण्डितद्वारा जारी विज्ञप्तिमा परिवर्तन, भ्रष्टाचारमुक्त सुशासन र राजनीतिमा पुस्तान्तरणको युवा पुस्ताको मागप्रति फाउन्डेशनको ऐक्यबद्धता रहेको उल्लेख छ ।

“तर आन्दोलनको आवरणमा गरिएको घुसपैठले देशभरि भएको धनजनको क्षतिप्रति हामी दुःखी छौं । लोकतन्त्रका लागि लडेका नेताहरु, नेपाली कांग्रेस, नेकपा एमाले लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु माथि गरिएको योजनाबद्ध हमलाको हामी निन्दा गर्दछौं। यस्ता घटनाले देशलाई प्रतिगमन र गहिरो संकटतर्फ धकेल्ने खतरातर्फ इंगित गर्दछन्। यस्तो बेला संयम, धैर्य र मेलमिलापका लागि हामी आह्वान गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

“संवैधानिक सर्वोच्चता, विधिको शासन, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत मान्यताहरुप्रति जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन सदैव प्रतिबद्ध छ। देशमा व्याप्त अनिश्चितता अन्त्य गरी सुशासन कायम गर्न र जनतामा विश्वास जगाउन सबै दलहरुको सहयोग र सहकार्य अनिवार्य छ। त्यसैले कसैप्रति पनि पूर्वाग्रह नराखी स्वतन्त्र र निस्पक्ष निर्वाचन गराउनु आजको आवश्यकता हो,”  विज्ञप्तिमा भनिएको छ।

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले देशलाई गम्भीर संकटबाट जोगाउन, संविधानको रक्षा गर्न, गणतान्त्रिक संघीय समावेशी संविधानलाई जीवन्त राख्न र वर्तमान संकटको संवैधानिक निकासका लागि संवैधानिक अभिभावक र संरक्षकका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरेको छ ।

“लामो राजनीतिक अस्थिरताले मुलुकलाई खोक्रो पार्छ, सार्वभौमसत्ता र स्वतन्त्र माथि नै जोखिम पैदा हुन्छ। त्यसैले सबै राष्ट्रिय शक्तिहरुसंग सहकार्य गरी विदेशमा रहेका लाखौं  नेपालीहरुका चासो र जायज मागलाई सम्बोधन गर्दै लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा अगाडी बढ्न हामी सबै पक्षलाई अपिल गर्दछौं,” डा पण्डितले भनेका छन्।

मुलुक इतिहासकै कठिन मोडमा पुगेको बेला अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा देशको नेतृत्व गर्न पुगेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिंदै फाउन्डेशनले आगामी ६ महिना भित्र (५ मार्च २०२६) मा हुन गैरहेको मध्यावधि निर्वाचन स्वतन्त्र र निस्पक्ष रुपमा सम्पन्न गर्न कार्की नेतृत्वको सरकारलाई सफलता मिलोस् भन्ने शुभकामना पनि दिएको छ ।

फाउन्डेशनले नेपालमा जेन जी पुस्ताद्वारा आह्वान गरिएको आन्दोलनका क्रममा दिवंगत भएका सबैप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्ति र  घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

विज्ञप्ति- 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू