शान्तिपूर्ण प्रदर्शनमा हिंसात्मक घटना हुनु दुखद् : एनआरएनए



काठमाडौं । डा. बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघले काठमाडौंसहित देशका विभिन्न सहरमा आयोजित शान्तिपूर्ण प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ ।
भ्रष्टाचारको विरोध, सुशासन माग र फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध ‘जेनजी’ पुस्ताको आह्वानमा ८ तारिख सोमबार भएको प्रदर्शनमा प्रहरीले चलाएको गोलीका कारण हालसम्म १९ जनाको मृत्यु भएको र ४२२ जना घाइते भएका खबरले गम्भीर चिन्ता उत्पन्न गरेको संघको भनाइ छ ।
संघले एक विज्ञप्तिमार्फत मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
‘लोकतान्त्रिक मुलुकका हरेक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रुपमा आफ्ना विचार राख्ने संवैधानिक अधिकार प्रत्याभूत हुन्छ । यसर्थ गैरआवासीय नेपाली संघ घाइतेहरुको निशुल्क उपचार गर्न, मृतकका परिवारलाई अविलम्ब राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, ‘जेनजी’ पुस्ताले उठाएका उचित मागहरुको समयमै सम्बोधन गर्न, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न, भोलिका दिनमा हुनसक्ने यस्ता किमिसका प्रदर्शनपूर्व नै उच्च सुरक्षा सतर्कता अपनाई जीउ ज्यानको सुरक्षा सुनिश्चित गर्न, शान्तिपूर्ण प्रदर्शनहरूमा अत्यधिक बल प्रयोग नगर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा भनिएको छ ।
नेपालको संविधानले व्यवस्था गरेको अभिव्यक्ति स्वतन्त्रताको हक (धारा १७) सञ्चारको हक (धारा १९), सूचनाको हक (धारा २७) जस्ता मौलिक हकहरु, साथै मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा १९ मा उल्लेख गरिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रतिकूल नहुने गरी व्यवस्था गर्न पनि गैरआवासीय नेपाली संघले नेपाल सरकारसमक्ष अनुरोध गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५