मंगलबार, ९ सेप्टेम्बर, २०२५
09:53 | १४:३८

रूसविरुद्ध दोस्रो चरणको प्रतिबन्ध लागू गर्ने दिशामा ह्वाइट हाउस

रासस/सिन्ह्वा सेप्टेम्बर ८, २०२५

वासिङ्टन, भदौ २३ गते । युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयास ठप्प भइरहेका सन्दर्भमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरुद्ध दोस्रो चरणको प्रतिबन्ध लागू गर्ने दिशामा ह्वाइट हाउस तयार रहेको जानकारी दिएका छन् ।

ट्रम्पले आइतबार न्यूयोर्क प्रस्थान गर्नुअघि सञ्चारकर्मीले राखेको प्रश्नको उत्तरमा संक्षिप्त प्रतिक्रिया दिँदै,’हो, म तयार छु’, भने ।

यद्यपि, उनले प्रतिबन्धको स्वरूपबारे थप विवरण दिएनन् । गत साता एक प्रतिष्ठित समाचार संस्थाले राष्ट्रपतिको कार्यालयमा कार्यरत दुई वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार, राष्ट्रपति ट्रम्प हाल रूस र युक्रेनबीचको द्वन्द्व चाँडै अन्त्य हुने सम्भावनामा आशावादी देखिएका छैनन् ।

साथै, उनले दुबै राष्ट्रका राष्ट्रपतिबीच प्रत्यक्ष वार्ता शीघ्र सम्भव नहुने धारणा व्यक्त गरेका छन् । उक्त परिस्थितिबीच आइतबार बिहान रूसी पक्षबाट युक्रेनको राजधानी किएभमा गरिएको ड्रोन र क्षेप्यास्त्र आक्रमणका कारण सरकारी क्षेत्रभित्रको एक महत्वपूर्ण प्रशासनिक भवनमा क्षति पुगेको जनाइएको छ ।

युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिदेन्कोले उक्त आक्रमण युद्ध सुरु भएयता पहिलो पटक राजधानी किएभको मुख्य सरकारी भवनमा क्षति पुगेको बताइन् । ह्वाइट हाउसले घट्नालाई गम्भीर रूपमा लिँदै आवश्यक परे थप निर्णायक कदम चाल्न सकिने सङ्केत गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू