रुसी आक्रमण रोक्न सुरक्षा प्रत्याभूति युक्रेनको पहिलो शर्त



किएभ । युद्ध रोकिएपछि भविष्यमा हुने रुसी आक्रमण रोक्न युक्रेनका लागि सुरक्षा प्रत्याभूति युक्रेनको पहिलो शर्त भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
रुसी समकक्षी भ्लादिमिर पुटिनसँग आफूले भेट गर्न सक्ने तर यसका लागि युक्रेनको सुरक्षा सुनिश्चितता हुनुपर्ने राष्ट्रपति जेलेन्स्कीले बताएका हुन् ।
बिहीबार जारी गरिएको टिप्पणीमा उनले दुवै पक्ष थप लडाइँको तयारीमा रहेको चेतावनी समेत दिएका छन् । रुसले दक्षिणी सीमा लाइनमा सैनिक तैनाथ गरिरहेको र युक्रेनले लामो दूरीको नयाँ क्रुज क्षेप्यास्त्रको परीक्षण गरिरहेको उनले बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्की र पुटिनसँग वार्ता गरेर युक्रेनमा रुसको साढे तीन वर्षको आक्रमण अन्त्य गर्ने प्रयास गरिरहेका छन् ।
शान्ति सम्झौताका लागि खासै ठोस प्रगति नभएपछि उनले रुसी नेतालाई एक्ल्याउने वर्षौँदेखिको पश्चिमा नीतिलाई अघि बढाउन सक्ने देखिएको छ ।
“हामी सातदेखि १० दिनभित्र सुरक्षा सुनिश्चितता योजनाबारे बुझ्न चाहन्छौँ,” जेलेन्स्कीले बिहीबार प्रकाशनका लागि जारी पत्रकारसँगको कुराकानीमा भने ।
उनले अगाडि थपे, “कुन देश प्रत्येक विशिष्ट क्षणमा के गर्न तयार छ रु हामीले यो बुझ्न आवश्यक छ ।”
बेलायत र फ्रान्सको नेतृत्वमा मित्र राष्ट्रहरूको एक समूहले सुरक्षा सुनिश्चिततालाई समर्थन गर्न एक सैन्य गठबन्धन खडा गर्दैछ ।