सोमबार, १८ अगस्ट, २०२५
22:59 | ०३:४४

पाकिस्तान बाढीको चपेटामा, एकहजार बढी मारिएको आशंका

रासस/एएनआई अगस्ट १८, २०२५

इस्लामाबाद, भदौ २ गते । पाकिस्तानी प्रधानमन्त्रीका संयोजक इख्तियार वली खानले खैबर पख्तुनख्वा (केपी) प्रान्तमा आएको विशाल बाढीमा एक हजारभन्दा बढी मानिसको मृत्यु हुनसक्ने गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

वलीले आफूले व्यक्तिगत रूपमा बाढी प्रभावित क्षेत्र भ्रमण गरेको र ठूलो विनाश देखेको बताए । उनले बुनेरको चघर्जी क्षेत्रमा व्यापक क्षति भएको र बासोनी गाउँ नक्साबाट नै हराएको जानकारी दिए । “बाढीको पानीले बोकेका केही चट्टानहरू ट्रकभन्दा ठूला थिए । घरहरू नदीमा बगाइएका छन्, सम्पूर्ण परिवारहरू हराएका छन् र रिपोर्ट गर्ने कोही छैन”, उनले भने ।

उनले आधिकारिक तथ्याङ्कले अस्पतालमा ल्याइएको शव मात्रै देखाएको तर धेरै हताहत अझै रिपोर्ट हुन बाँकी रहेको बताए । एआरवाई न्यूजका अनुसार करिब एक हजारभन्दा बढी मानिस अझै बेपत्ता छन् र सामूहिक अन्त्येष्टि जारी छ । वलीले बाढीको दृश्य देखेर आफैँ भारी मन लिएर फर्केको बताए ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार, २६ जुनदेखि देशभरि वर्षासँग सम्बन्धित घटनामा कम्तीमा छ सय ५७ जनाको मृत्यु भइसकेको छ र नौ सय २९ जना घाइते भएका छन् । मृतकमध्ये एक सय ७१ जना बालबालिका र ९४ जना महिला छन् ।

केपी प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ तीन सय ९० जनाको मृत्यु (दुई सय ८८ पुरुष, ५९ बालबालिका, ४३ महिला) र दुई सय ४५ जना घाइते (एक सय ६१ पुरुष, ४५ बालबालिका, ३९ महिला) भएको जनाइएको छ ।

एनडिएमएले प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्र बनाउन प्रान्तीय अधिकारीहरूसँग समन्वय गरिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू