आइतबार, ३ अगस्ट, २०२५
13:58 | १८:४३

बेलायतको साढे तीन वर्ष: सपना, संघर्ष र सम्भावनाको यात्रामा म

नेपाली लिङ्क अगस्ट २, २०२५

बेलायतको भूमिमा पाइला टेकेको ठ्याक्कै ३ वर्ष ६ महिना बितिसकेछ । समयले साँच्चै कहिल्यै कुर्दैन, न त हाम्रो योजना अनुसार मात्रै चल्दछ। जब सन् २०२२ को सुरुमा मन भारी बनाएर नेपाल छोडेको थिएँ, त्यतिबेला लाग्थ्यो– म त ६ महिना पनि टिक्न सक्दिन होला यहां । तर आज फर्केर हेर्दा लाग्छ, यही अनिश्चय भित्र जीवनको सबभन्दा ठूलो पाठहरू लुकेका रहेछन्।

बेलायत– सपना पूरा गर्ने भूमिको कथा

विदेश जानु एउटा लक्ष्य हो, तर विदेशमा बाँच्नु, आफैंलाई टिकाउनु, र आफ्नो अस्तित्व स्थापित गर्नु भने अर्कै लडाइँ हो। सुरुका दिनहरू सजिला थिएनन्। आफ्ना परिवार, आफन्त, साथीभाइ सबैलाई टाढा छोडेर आएको त्यो दिन अझै याद छ । विमानस्थलमा सबैजनाको म प्रतिको त्यो पर्खाइको भावको नजर, आमाको अँगालो र बुवाको मौन अनुहार। यहाँ आएपछि त थाहा भयो, विदेशको चमकभित्र लुकेको चकमक जिन्दगी। नयाँ देश, नयाँ भाषा, फरक संस्कार, अलग सोच, जससँग तालमेल गर्न दिन होइन, महिना बित्नुपर्ने रहेछ। साथीभाइ बनाउने कुरा सानो होइन, काम र पढाइसँग जुध्ने कुरा त झनै गाह्रो। कहिले दिनको ड्युटी, कहिले रातको, अनि यही बेलायतको झिलिमिली सहरमा एक्लोपनको घोर अँध्यारो ! यो समयसंगै बग्दा कहिलेकाहीँ लाग्छ, जिन्दगी साँच्चै कति अनपेक्षित, तर सशक्त र रहस्यमय रहेछ। सुरुमा जब म नेपालबाट बेलायत आइपुगेँ, त्यो क्षण मेरो लागि एउटा सपनाको सुरुवात मात्रै थिएन, त्यो मेरो साहस, पीडा र परिवर्तनको पहिलो पाइला थियो। तत्कालीन क्षणमा म अत्यन्त असमन्जसमा थिएँ।

मनमा थियो – के म यहाँ टिक्न सक्छु त? त्यति बेला आफ्ना परिवार, साथीसंगी, आफू हुर्किएको आँगन, आमाको भान्साको स्वाद, हरेक चिज एकैचोटी सम्झेर आँखा रसाएका थिए। तर आज समयले देखायो, म मात्र टिकेको छैन, म यो देशमा अडिएर, अगाडि बढिरहेको छु। हामी सोच्छौं, योजना बनाउँछौं कि, कहिले पढ्ने, कहिले काम गर्ने, कहिले फर्कने। तर समय भने आफ्नै गतिमा, आफ्नै शैलीमा हाम्रा लागि वैकल्पिक योजना बनाइरहेको हुन्छ। त्यही समयको गतिमा म पनि बगिरहेछु। ३ वर्षपछि नेपाल गएको थिएँ, आमाबाबुसँग अँगालो मारेर बस्न पाएको त्यो क्षण आज पनि स्मृतिमा ताजा छ। तर फर्किएको पनि आज ६ महिना पुगिसकेछ र यी ६ महिना फेरि मलाई यहाँको जिम्मेवारी, अनुशासन र चुनौतीहरूमा गहिरोसंग फर्काइरहेछ।

संघर्षका छायाँमा आत्मशक्ति जागृत भयो । बेलायतले मलाई एउटा गहिरो पाठ सिकायो, मेहेनत एक्लै पर्याप्त हुँदैन, धैर्यता त्यो मेहेनतलाई फलीभूत बनाउने शक्ति हो। म पनि थकित भएँ, चिन्तित भएँ, तनावमा परेँ। तर जति पटक म विचलित भए, जति पटक म तनावग्रस्त अवस्थामा थिएं, उति पटक जीवनलाई फेरि सम्हाल्ने उपाय पनि आफैंले पत्ता लगाएँ। कहिलेकाहीं गीत–संगीतमा शरण लिने, कहिले एकान्त पार्कमा घुम्ने, अनि कहिले साथीभाइको साथ खोज्ने। यस्तो लाग्थ्यो – जब मन भारी हुन्छ, तब अरुको मुहारमा देखिएको मुस्कान नै आत्माको सन्तुष्टि बन्छ। बेलायतमा बस्नु सजिलो होइन। विशेषगरी हाम्रो जस्तो सामुदायिक भावनाले भरिएको देशबाट आएको युवाका लागि त झनै गाह्रो। यहाँको जीवनशैली, समयको कठोर अनुशासन, कहिले दिउँसो त कहिले रातीको ड्युटी, निन्द्राको कमि, खानपानको अव्यवस्था, अनि कहिलेकाहीँ त के म एक्लै छु यो संसारमा? भन्ने महसुस।

यहाँको समाज, संस्कार, सोच सबै फरक छन्। यहाँ मान्छेहरू बढी व्यस्त छन्, आत्मकेद्रित छन्, र व्यक्तिगत जीवनमा धेरै सीमित। हामीकहाँ जस्तो भिनाजु भान्जा, दाजु भाइ, दिदीबहिनी, साथी परे त जीवनभरको, भन्ने सम्बन्ध यहाँको समाजमा त्यति प्रबल छैन। त्यसैले सामाजिक र भावनात्मक दूरी धेरै महसूस हुन्छ। सुरुका दिनहरूमा मैले पनि सोचें – यो जीवन मकैको बोट झैं हल्लिने मात्र त हैन? तर बिस्तारै मैले बुझेँ, धैर्यता र मेहनत त्यो हावाभित्र उभिएर गहिरो जरामा टिक्न सक्ने शक्तिशाली जरा हुदो रहेछ। काम, पढाइ, आर्थिक व्यवस्था, भौतिक थकान, मानसिक तनाव, यी सबै मेरो दिनचर्याका भाग थिए। तर म कुनै पनि समस्यासँग लड्न छाडिन। जब जीवन गाह्रो लाग्यो, तब संगीत सुनेँ, पार्कतिर हिडेँ, नयाँ साथी बनाएँ, अनि आफूभन्दा अनुभवी अग्रजहरूसँग सल्लाह लिँए ।

दारी ग्याङ यूके– जीवनको ऊर्जा स्रोत 

सामाजिक सेवामा मेरो समर्पणले बेलायतको व्यस्त जिन्दगीलाई केही सहज बनाएको छ। दारी ग्याङ युकेसँगको संलग्नताले मलाई आत्मिक रूपमा बाँधेको छ। च्यारिटी कार्यक्रम, समुदाय निर्माण, सांस्कृतिक उत्सव यी सबैले जीवनलाई अर्थ दिएका छन्। जब म आफूभन्दा अप्ठ्यारोमा परेका अरूलाई साथ दिन्छु, तब आफ्नो बोझ आफैं हलुका भएको महसुस हुन्छ। साँचो कुरा के हो भने – जिन्दगी सजिलो बनाउने तरिका भनेको, अरूलाई साथ दिँदै आफैंलाई सक्षम बनाउनु रहेछ। जब बेलायतमा मेरो मन असहज भयो, तब दारी ग्याङ युके मेरा लागि एक किसिमको आत्मिक थेरापी बन्यो। दारी ग्याङ युकेका सदस्यहरु र शुभचिन्तकहरुसँगको काम, च्यारिटी कार्यक्रम, समुदायमा सहयोग, नेपाल र नेपालीप्रति समर्पण यी सबैले मलाई जिन्दगीको अर्थ सम्झाइरहे। अरुलाई सघाउँदा आफैंलाई सहज महसुस हुने रहेछ। जब हामी अरुका आँशु पुछ्न सक्छौं, तब हाम्रो मनले मुस्कान फर्काउने रहेछ।

बेलायतका युवाहरुका लागि केही अनुभवी सन्देश

म अहिले बेलायतमा छु, तर मेरो मुटु अझै त्यो नेपाली माटोमै बाँधिएको छ। जति समय बित्दै गइरहेको छ, उति ती बाल्यकालका सम्झनाहरू अझ गहिरो बन्दै गइरहेका छन्। नेपाल गएको पनि ६ महिना भइसकेछ । पहिलोपटक बेलायत आएर त्यो ३ वर्षपछि घर फर्केको अनुभूति, आमाको अँगालो, बुवाको सल्लाह, साथीहरूसँगको रमाइलो अझै सपनाजस्तै लाग्छ। बेलायतमा धेरै युवाहरुको यथार्थ कथा म सुनिरहेको छु – एक्लोपन, डिप्रेशन, आत्महत्या, खानपानको अभाव, निन्द्राको कमी, अनि कसैसंग नबोल्ने बानी। यी समस्या गम्भीर छन्। तर समाधान पनि त्यति टाढा छैन – सल्लाह लिनुहोस्, आफ्नो मनको कुरा खोल्नुहोस्, साथीभाइको साथ खोज्नुहोस्, व्यायाम गर्नुहोस्, अनि सामाजिक सेवामा संलग्न हुनुहोस्। जीवनले कहिले काँधमा भारी बोझ दिन्छ, कहिले उड्न पंख पनि दिन्छ। तर त्यो पंख उड्न प्रयोग गर्न, हाम्रो हिम्मत चाहिन्छ।

म अझै केही वर्ष बेलायतमै रहनेछु। केही सीप सिक्ने, नयाँ प्रविधि बुझ्ने, अनुभव जम्मा गर्ने र आफूलाई अझ बलियो बनाउने लक्ष्यसहित। तर एक कुरा स्पष्ट छ – म फर्कनेछु। म नेपाल फर्कनेछु। फर्केर त्यो माटोमा केही दिनेछु। त्यो माटो जसले मलाई हुर्कायो, त्यो समाज जसले मलाई मूल्य, संस्कृति र आत्मसम्मान सिकायो। मेरो देह, मेरो अन्तिम सास, नेपाली माटोमै हुनेछ भन्ने मेरो दृढ प्रतिज्ञा हो।

अन्त्यमा, सपना त धेरै देखिन्छन्, तर तिनीहरूलाई साकार गर्न संघर्ष र धैर्यताले भरिएको यात्रा तय गर्नुपर्छ। मेरो यात्रा अझै बाँकी छ, तर म दृढ छु । यो यात्रा ज्ञान, सीप, अनुभव र भावनाले भरिएको हुनेछ। र अन्ततः, एक दिन आफ्नै देश फर्किनेछु – अनुभवको भारी बोक्दै, देश र समाजका लागि केही योगदान दिने मनसायसहित। र जब त्यो दिन आउनेछ, म खुसीसाथ भन्नेछु – म फर्किएँ, मेरो माटोमा, मेरो पहिचानसहित । समय त बित्दो रहेछ, तर त्यसको भित्र लुकेको अनुभव, शिक्षा, संघर्ष र सफलतालाई आत्मसात गर्दै जीवन अघि बढाउनु, त्यो हो साँचो बाँच्ने कला। साढे तीन वर्ष बेलायतमा बित्यो भनेर लेख्दै छु, तर यो समय केवल क्यालेन्डरको पाना होइन, यो त जीवनका सयौं पाठ, आत्मबलको जाँच, अनि सपनासँगको सम्झौता हो। र म आज पनि हाँसीरहेछु, किनभने मैले आफूलाई हराएको होइन, बनाएको छु ।

लेखनः सुशील गौतम (प्रेष्टन, बेलायत)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू