बिहीबार, ११ जुन, २०२६
02:26 | ०७:११

नर्दन आयरल्याण्डमा आप्रवासनविरोधी हिंसात्मक प्रदर्शन, सतर्क रहन एनआरएनए यूकेको अपिल

नेपाली लिङ्क जुन १०, २०२६

लन्डन । बेलायत फेरि हिंसाले तातेको छ । एकातिर चक्कु आक्रमण, अर्कोतिर सडकमा आगजनी र आप्रवासनविरोधी प्रदर्शन ।

सोमबार उत्तरी आयरल्याण्डको बेलफास्टमा ४० वर्षीय एक पुरुषमाथि चक्कु प्रहार भयो । उनको आँखा, अनुहार र ढाडमा गम्भीर चोट लागेको छ । उनी अहिले अस्पतालमा उपचाररत छन् ।

प्रहरीले घटनास्थलबाट भान्सामा प्रयोग हुने चक्कु बरामद गरेको छ । ३० वर्षीय एक सुडानी नागरिक पक्राउ परेका छन् । उनीमाथि ज्यान मार्ने नियतले आक्रमण गरेको आरोप लगाइएको छ ।

उत्तर बेलफास्टस्थित डन्केर्न एभेन्युका बासिन्दा हादी अलोडिदलाई भिडियो लिंकमार्फत अदालत उपस्थित गराइएको छ ।

प्रहरीले घटनालाई आतंकवादसँग सम्बन्धित नभएको बताएको छ । तर घटनापछि सामाजिक सञ्जालमा आक्रोश फैलिन थाल्यो । त्यसपछि बेलफास्टको सडक तनावले भरियो ।

सयौं आप्रवासनविरोधी प्रदर्शनकारी सडकमा उत्रिए । केही स्थानमा बस र गाडीमा आगजनी भयो । घरहरूमा तोडफोडसमेत गरियो । प्रहरीले केही क्षेत्रमा अतिरिक्त सुरक्षा बलसमेत परिचालन गर्नुपरेको बताइएको छ ।

प्रधानमन्त्री किअर स्टार्मरले बेलफास्ट घटना भयानक भन्दै सडक हिंसाप्रति शून्य सहनशीलता अपनाइने बताएका छन् । उत्तरी आयरल्याण्डकी प्रथम मन्त्री मिशेल ओ’नेलले एउटा आपराधिक घटनालाई बहाना बनाएर निर्दोष समुदायलाई निशाना बनाउने प्रयास भइरहेको चेतावनी दिएकी छन् ।

उनीमाथि चक्कु आक्रमणसँगै सार्वजनिक स्थानमा चक्कु साथमा राखेको र एनएचएसका एक कर्मचारीलाई मार्ने धम्की दिएको आरोप पनि लगाइएको छ ।

सोही दिन मेनचेस्टरमा पनि अर्को चक्कु आक्रमण भयो । को–अप एकेडेमी विद्यालयभित्र १४ वर्षीया एक छात्राले चक्कु प्रहार गर्दा विद्यार्थी बचाउन खोज्ने शिक्षकको घाँटीमा चोट लाग्यो । दुई विद्यार्थी पनि घाइते भए ।

तर अहिले प्रश्न केवल चक्कु आक्रमणको मात्र छैन । बेलायतमा आप्रवासन, सुरक्षा र राष्ट्रिय पहिचानको बहस झन् विस्फोटक बन्दै गएको छ । र यही मुद्दाले दक्षिणपन्थी राजनीति पनि तीव्र रूपमा बलियो बनाइरहेको छ ।

नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको अपील

उता, गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका विभिन्न स्थानमा अशान्तिका घटना भइरहंदा अत्यन्त सतर्क रहन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेको छ।

एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै उत्तरी आयरल्याण्ड लगायत यूकेका केही क्षेत्रमा आप्रवासनसम्बन्धी विषयसँग जोडिएका तनाव तथा अशान्तिका घटनाहरू सार्वजनिक भइरहेका सन्दर्भमा बेलायतमा बसोबास, रोजगारी तथा व्यवसाय गरिरहेका सम्पूर्ण नेपालीलाई अत्यन्त सतर्क रहन आग्रह गरेका छन् ।

‘कुनै पनि अफवाहमा विश्वास नगरी स्थानीय काउन्सिल, सुरक्षा निकाय तथा आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन र आवश्यक परेमा प्रहरी तथा सम्बन्धित काउन्सिलसंग सम्पर्क गरी सहयोग लिनु हुन अनुरोध छ। साथै, आफ्नो परिवार, समुदाय र विशेषगरी विद्यार्थी तथा नवआगन्तुक नेपालीहरूलाई पनि परिस्थितिबारे सचेत र जानकारी राख्न आग्रह गर्दछु’, पुडासैनीले भने।

अध्यक्ष पुडासैनीले बेलायतस्थित सबै नेपालीले शान्ति, आपसी सद्भाव, कानुनको सम्मान र सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा राख्दै कुनै पनि उत्तेजनात्मक गतिविधिबाट टाढा रहनु आवश्यक रहेको बताए ।

‘नेपाली समुदायले सधैंझैँ एकता, संयम र पारस्परिक सहयोगको भावना कायम राख्नेछ भन्ने विश्वास व्यक्त गर्दछु। आफू, परिवार र समुदायमा सुरक्षित रहन आवश्यक सावधानी अपनाउन पनि पुनः अनुरोध गर्दछु’,विज्ञप्तिमा भनिएको छ ।

दुवै तस्विर- एपी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू