तालिबानको नियन्त्रणमा रहेका वृद्ध ब्रिटिश दम्पतिको जीवन जोखिममा



जेनेभा–संयुक्त राष्ट्रका स्वतन्त्र विशेषज्ञहरूले अफगानिस्तानमा तालिबानको नियन्त्रणमा रहेका एक वृद्ध ब्रिटिश दम्पतिलाई लामो समयदेखि बिना आरोप थुनामा राखिएको भन्दै उनीहरूको स्वास्थ्य संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
आवश्यक चिकित्सकीय उपचार नपाएमा उनीहरुको जीवन जोखिममा पर्न सक्ने भन्दै तत्काल रिहा गर्न माग गरिएको छ ।
८० वर्षीय पीटर रेनोल्ड्स र उनकी पत्नी ७५ वर्षीया बार्बीलाई फेब्रुअरीदेखि बिना कुनै औपचारिक आरोप अफगानिस्तानमा थुनामा राखिएको छ । उनीहरू सन् १९७० मा काबुलमा विवाह गरेका हुन् र करिब दुई दशकदेखि त्यहीँ निरन्तर बसोबास गर्दै आएका छन् ।
विशेषज्ञहरूले उनीहरू पाँच महिनाभन्दा बढी समयदेखि उच्च सुरक्षा जेलमा राखिएको बताएका छन् । केही समयदेखि भूमिगत कोठामा पनि छन्, जहाँ सूर्यको प्रकाश समेत पुग्दैन ।
दम्पतिको शारीरिक र मानसिक स्वास्थ्य द्रुत रूपमा बिग्रँदै गएको र आवश्यक उपचार नपाएमा अपूरणीय क्षति वा मृत्यु हुन सक्ने खतरा औंल्याइएको छ । पीटरलाई दुई वर्षअघि सानो स्ट्रोक लागेको थियो र उनी मुटु रोगको औषधि सेवनमा छन् । उनले दुई पटक आँखा संक्रमण भोगेका छन् ।
उनको टाउको र बाँया हातमा झटका आउने समस्या छ भने हालै बेहोस पनि भएका थिए । उनकी पत्नी बार्बीलाई खुट्टा सुन्निने समस्या देखिएको छ ।
संयुक्त राष्ट्रका मानवअधिकार सम्बन्धी विशेष प्रतिवेदनकर्ताहरूले उनीहरूलाई तत्काल नागरिक अस्पतालमा सारेर आवश्यक उपचार प्रदान गर्न आग्रह गरेका छन् ।
हालै विवाहको ५५ औं वार्षिकोत्सव मनाएका रेनोल्ड्स दम्पतिले अफगानिस्तानमा १८ वर्षदेखि विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनीहरुलाई चीन–अमेरिकी साथी फे हॉल र अफगान अनुवादकसँगै बामियान प्रान्तमा घर फर्किँदै गर्दा थुनामा राखिएको थियो ।
विशेषज्ञहरूले भनेका छन्,“उहाँहरूलाई थुनामा राख्नुको कुनै औचित्य देखिँदैन र थुनाको आधारको तत्काल समीक्षा आवश्यक छ । यसरी जोखिमपूर्ण र असम्मानजनक अवस्थामा राख्नु अमानवीय र चिन्ताजनक छ ।”
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५