बेलायतको राजकीय भ्रमण तयारीमा फ्रान्सका राष्ट्रपति, संसदलाई सम्बोधन गर्ने




फाइल तस्बिर
पेरिस, असार २० गते । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आगामी साता हुने बेलायतको राजकीय भ्रमणका क्रममा त्यहाँको संसद्लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने विषयमा हुने शिखर सम्मेलनमा सहभागी हुन उनी मङ्गलबार लण्डन जानेछन् ।
राजा चाल्र्स तृतीयको कार्यालय बकिङघम प्यालेसले शुक्रबार भनेको छ, “राष्ट्रपति र श्रीमती म्याक्रोँले वेस्टमिन्स्टर प्यालेसको भ्रमण गर्नुहुनेछ र भ्रमणका क्रममा बेलायती संसद्लाई सम्बोधन गर्नुहुनेछ ।
सन् २००८ मा निकोलस सार्कोजीपछि बेलायतको राजकीय भ्रमण गर्ने म्याक्रोँ पहिलो फ्रान्सेली राष्ट्रपति हुन् ।
राजा चाल्स द्वितीयको निमन्त्रणामा फ्रान्सेली नेताले उनकी पत्नी ब्रिगिटसहित बेलायतको राजकीय भ्रमण गर्न लागेका हुन् । उनीहरू लण्डनको पश्चिममा रहेको वीन्डसर क्यासलस्थित राजा चाल्र्स द्वित्तीयको निवासमा हुने राजकीय भोजमा सहभागी हुनेछन् । वीन्डसरमा रहँदा म्याक्रोँले सेन्ट जर्ज च्यापलमा दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको समाधिस्थलमा फूल चढाउने कार्यक्रम छ ।
सन् २०२३ को सेप्टेम्बरमा चाल्र्सले फ्रान्सको राजकीय भ्रमण गरेका थिए । भ्रमणका क्रममा म्याक्रोँले बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग पनि भेटवार्ता गर्नेछन् । बेलायतको कन्जरभेटिभ पार्टीको अघिल्लो सरकारको पालामा अर्थात् ब्रेक्जिटपछि पेरिस र लण्डनबीच राजनीतिक तनाव बढेको थियो तर स्टार्मरको नेतृत्वमा रहेको मध्य–वामपन्थी लेबर सरकारको नेतृत्वमा सम्बन्धमा नयाँ न्यानोपन आएको छ र दुई देशले युक्रेनका लागि शान्ति खोज्ने युरोपेली प्रयासको नेतृत्व गरिरहेका छन् ।
बेलायतको प्रमुख राजनीतिक मुद्दाका रुपमा रहेको च्यानलको जोखिमपूर्ण स–साना डुङ्गा पार गर्ने आप्रवासीलाई रोक्ने रणनीतिमा दुई देशबीच सहमति हुन सकेको छैन । बिहीबार लण्डनमा हुने ३७ औं फ्रेन्को–ब्रिटिस शिखर सम्मेलनको एजेन्डामा यो विषय उच्च हुनेछ ।