सोमबार, ३० जुन, २०२५
18:25 | २३:१०

तेहरानको इभिन कारागारमा इजरायली आक्रमण हुंदा ७१ जना मारिएको पुष्टि

रासस/एएफपी जुन २९, २०२५

तस्विर एएफपी

तेहरान, असार १५ गते । तेहरानको इभिन कारागारमा यस महिनाको १२ दिनसम्म चलेको युद्धका क्रममा इजरायली आक्रमणमा परी कम्तीमा ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाले आइतबार जनाएको छ ।

तेहरानको उत्तरमा अवस्थित इभिनमा सोमबार भएको आक्रमणले प्रशासनिक भवनको केही भाग ध्वस्त पारेको थियो । उक्त जेलमा राजनीतिक बन्दी र विदेशी नागरिकहरू रहेको अधिकारवादी समूहहरूले बताएका छन् ।

“इभिन जेलमा भएको आक्रमणमा ७१ जनाको मृत्यु भएको पुष्टि भएको छ,” इरान सरकारद्वारा गराइएको औपचारिक जानकारीमा भनिएको छ ।

इजरायलले जुन १३ मा सुरु गरेको बमबारी अभियानबाट प्रभावितमध्ये एक स्थान इभिन जेल रहेको न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले बताए ।

जहाँगीरका अनुसार इभिनमा मारिएकाहरूमा प्रशासनिक कर्मचारी, गार्ड, कैदी र भेट्न आएका आफन्तहरू साथै जेल नजिक बस्ने केही व्यक्ति पनि थिए ।

न्यायपालिकाले सार्वजनिक गरेको तस्बिरमा भवनको पर्खाल भत्किएको, छाना भत्किएको, छरिएर रहेका भग्नावशेष र प्रतीक्षालयमा रहेका सतहहरु भत्किएको देख्न सकिन्छ ।

इभिनको मेडिकल सेन्टर र भिजिटिङ रुमलाई निशाना बनाइएको अदालतले बताएको छ ।

आक्रमणको एक दिनपछि मङ्गलबार इरानी जेल प्रशासनले इभिन जेलबाट पहिचान नै नगरी कैदीलाई बाहिर स्थानान्तरण गरेको बताएको थियो ।

इभिनमा नोबेल शान्ति पुरस्कार विजेता नार्गेस मोहम्मदी, केही फ्रान्सेली नागरिक र अन्य विदेशी नागरिक छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू