मंगलबार, वैशाख १८, २०८१
14:21 | १९:०६

सरकारको ‘इट आउट टु हेल्प आउट’ स्किममा ग्राहक आकर्षित

दुई हप्तामा ३ करोड ५० लाखले लिए फाइदा

नेपाली लिङ्क अगस्ट १८, २०२०

लन्डन । बेलायत सरकारद्वारा अगष्टभर लागू गरिएको ‘इट आउट टु हेल्प आउट’ स्किमको फाइदा गत दुई हप्ताभित्र ३ करोड ५० लाख जनाले लिएका छन् ।

अगष्ट महिनाभरी प्रत्येक सोमबारदेखि बुधबारसम्मको खाना लगायत सफ्ट ड्रिंक्स्मा ५० प्रतिशतसम्म छुट दिने निर्णय सरकारले गरेको छ । प्रति व्यक्ति बढीमा १० पाउण्डसम्म छुट पाउने भएपनि यसको प्रयोगमा कुनै सीमा निर्धारण नगरिएकाले ग्राहकले जतिपटक पनि उक्त सुविधा उपभोग गर्न सक्नेछन् ।

कोरोना भाइरस संक्रमणका कारण करिब ३ महिना लकडाउनपछि सबैभन्दा प्रभावित हस्पिटालिटी क्षेत्रलाई उकास्ने उद्देश्यले बेलायती अर्थमन्त्री ऋषि सुनाकले अगष्ट महिनाभर प्रत्येक सोमबारदेखि बुधबारसम्म पब, क्याफे वा रेष्टुरेन्टभित्र खाएको खाना तथा सफ्ट ड्रिंक्सको बिलमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका हुन् । अर्थमन्त्री सुनाकले करिब आधाजसो बेलायती यस स्किममा भाग लिएर लोकल विजनेशलाई सहयोग गरेको बताएका छन् ।

‘इट आउट टु हेल्प आउट’ स्किम अन्तर्गत बेलायतका ८५ हजारभन्दा बढी रेष्टुरेन्टहरु दर्ता छन् । सरकारको यस नीतिले हस्पिटालिटी क्षेत्रलाई राहत पुग्नुका साथै बेरोजगारी समस्यामा पनि सहयोग पुग्ने अपेक्षा छ ।

सरकारको स्किम अन्तर्गत दर्ता गर्न सबैलाई अनुरोध गरिएको छ । ग्राहकलाई दिएको ५० प्रतिशत छुट रकम सरकारले बढीमा ५ दिनभित्र व्यवसायीलाई भुक्तानी गर्दछ । उक्त स्किमका लागि सरकारले ५ सय मिलियन पाउण्ड छुट्ट्याएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू