बेलायतको अल्डरसट टाउन क्लबमा अनुबन्ध भए नेपालीमूलका फुटबलर किवान राई



लन्डन- बेलायतको नेपाली राजधानी भनेर चिनिने अल्डरसट शहरको स्थानीय फुटबल क्लब ‘अल्डरसट टाउन फुटबल क्लब’ मा नेपालीमूलका फुटबलर किवान राई अनुबन्धित भएका छन् ।
इंग्लिस फुटबलको पाँचौं तह मानिने ‘नेश्नल लिग’ खेल्ने अल्डरसट टाउनमा अनुवन्ध हुने किवान नेपालीमूलका पहिलो खेलाडी बनेका छन् ।
बुधबार अल्डरसटका लागि सम्झौता हस्ताक्षर गरेलगत्तै किवानले आफू निकै उत्साहित र खेल्नका लागि आतुर रहेको प्रतिक्रिया दिए । उनले अल्डरसट क्लबको सिजन टिकट लिन समेत आफ्ना शुभेच्छुकहरुलाई आग्रह गरेका छन् ।
अल्डरसट टाउन क्लबमा आउँदो सिजनमा आफनो प्रतिभा निखार्ने र सिंगो क्लबलाई नै माथि लैजानेगरी योगदान गर्ने आफ्नो लक्ष्य रहेको किवानले बताएका छन् ।
यसअघि किवान इंग्लिस फुटबलको चौंथो तह मानिने ‘लिग टु’ मा खेल्ने वेल्सको क्लब न्यूपोर्ट काउन्टीबाट खेल्दै आएका थिए । न्यूपोर्ट काउन्टीकै अन्डर १५ तहमा युथ एकेडेमी जोइन गरेका किवानले सन् २०२३ मा सोही क्लबको मेन टीममा स्थान बनाएका थिए ।
न्यूपोर्ट काउन्टीका लागि ३० वटा खेलमा मैदान उत्रिएका किवानले प्रिमियर लिग क्लब ब्रेन्टफोर्डविरुद्ध खेलको ९६ औं मिनेटमा स्कोर गरेको बराबरी गोल सम्झनालायक छ ।
अट्याकिङ मिडफिल्डरको भूमिकामा खेल्ने किवानको रचनात्मक र प्राविधिक कौशललाई बलियो पक्ष मान्ने गरिन्छ ।
सन् २००५ मा वेल्समा जन्मिएका किवानका पिता ब्रिटिश गोर्खा सैनिक हुन् ।
गत वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीलाई बेलायत ल्याएर इंग्ल्यान्डको सी टीमसंग खेलाएको अल्डरसट टाउन फुटबल क्लबले नै अहिले फेरि नेपालीमूलका किवानलाई भित्र्याएको छ ।
नेपालीहरुको उल्लेख्य बसोबास रहेको अल्डरसट टाउनमै आधार रहेको अल्डरसट टाउन फुटबल क्लबमा किवानको प्रवेशबाट स्थानीय नेपालीहरु पनि खुशी र उत्साहित बनेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५