बुधबार, असार ११, २०८२
10:28 | १५:१३

लन्डनका नेपाली धावक सन्तोष वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनमा फेरि छनोट

नेपाली लिङ्क जुन २४, २०२५

लन्डन । लन्डनस्थित एकजना नेपाली धावक सन्तोष राई वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनमा प्रतिष्पर्धा गर्न स्पेनको पोन्टेभेड्रा जाने तयारीमा छन् ।

यही २९ जुनमा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै स्पेन जान लागेका सन्तोषले ४० देखि ४४ वर्ष उमेर समूहमा प्रतिष्पर्धा गर्ने तयारी गरिरहेको जनाए ।

५० देखि ५४ उमेर समूहमा सन्तोष कर्माचार्य पनि अमेरिकाको बोस्टनबाट आउंदैछन्। नेपाल ट्रायथलन एसोसिएसनले दुई खेलाडी छनोट गरेको हो ।

सन्तोष गत वर्ष अगष्टमा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनमा प्रतिष्पर्धा गर्न अष्ट्रेलिया पुगेका थिए ।

३ किमी स्वीमिङ, १२१ किमी बाइक राइड (साइक्लिनिङ) र ३० किमी रनिङ समावेश ट्रायथलन प्रतियोगितामा राई टप १३ मा आउन सफल भएका थिए ।

राईले अष्ट्रेलियाको नर्थ क्वीन्सल्याण्डस्थित टाउन्स भेलमा भएको वर्ल्ड च्याम्पियनसीप अन्तर्गत एलिट क्याटेगोरीमा प्रतिष्पर्धा गरेका थिए ।

२७ अप्रिल लन्डनमा आयोजित संसारकै प्रतिष्ठित लन्डन म्याराथनको ४५औं संस्करणमा एक नेपालीले विश्व कीर्तिमान बनाए ।

नेपाल रन यूकेका संस्थापक सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा लन्डन म्याराथन दौडिएर ‘गिनिज वर्ल्ड रेकर्ड’ बनाएका हुन् । सन्तोषले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गरेका थिए ।

नेपालमा ट्रायथलन खेलाडी निकै कम छन्। यो खेल महंगो र गारहो हुने भएकाले पनि खेलाडी संख्या न्यून भएको सन्तोषले बताए ।

राईलाई ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले हवाइ टिकट, पिपल मोर्गेज र गोर्खा किचेन अल्डरसटले एकोमोडेसन, रियल ड्रिम्स कन्सल्टेन्सीले खेल सामग्री र सरोज थेरापीले फिजियो थेरापी प्रायोजन गरेका छन् ।

सन्तोषको म्याराथन यात्रा सन् २००९ देखि शुरु भयो । लन्डन, बर्लिन, न्यूयोर्क, सिकागो, बोस्टन, टोकियो जस्ता विश्वका ६ वटा फूल म्याराथन पुरा गर्ने उनी पहिलो नेपाली हुन् । उनले दुई वर्षमा ति विश्वप्रसिद्ध म्याराथन सम्पन्न गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू