सोमबार, असार २, २०८२
17:34 | २२:१९

हामीले झडप गरेर केन्द्रीय कार्यालय जान हतार नगरेको हो, अब धेरै कुर्दैनौ: अध्यक्ष श्रेष्ठ

नेपाली लिङ्क जुन १६, २०२५

अमेरिका – गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष महेशकुमार श्रेष्ठले संघको एकता महाधिवेशनबाट विधिवत निर्वाचित कार्यसमिति नै एकमात्र आधिकारिक कार्यसमिति भएको भन्दै  कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्।

एनआरएनए अमेरिकाद्वारा आइतबार अपरान्ह टेक्सास राज्यको डालसमा आफ्नो स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले संघका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई आफू नेतृत्वको कार्यसमितिसंग समन्वय गरेर काम गर्न आग्रह गरे।

काठमाडौँको हायात होटेलमा गत मे ३ र ४ तारिखमा संघको उच्चस्तरीय समितिले आह्वान गरेको एकता महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो।  

“नेपाल सरकारका प्रतिनिधिहरुको रोहबरमा गराइएको निर्वाचनमा हामी निर्वाचित भए लगत्तै अर्को समूहले हाम्रो काम रोक्न मुद्दा हालेको थियो, तर सर्वोच्चले अन्तरिम आदेश दिएन, त्यसैले हामी नै आधिकारिक हौं,” श्रेष्ठले भने। 

परराष्ट्र मन्त्रालयले आफू नेतृत्वको कार्यसमिति नै आधिकारिक कार्यसमिति हो भन्दै संसारभरि रहेका नेपाली कूटनीतिक नियोगहरुलाई पत्राचार गरिसकेको पनि उनले बताए।

उनले सबै पक्षसँग सहमति र सहकार्यका लागि आफूहरु लचिलो भएर अघि बढ्ने बताए। “हामीले झडपको अवस्था नचाहेकाले बालुवाटारस्थित संघको केन्द्रीय कार्यालय जान हतार गरेका छैनौं,” उनले भने । तर, अब धेरै समय नकुर्ने र केन्द्रीय कार्यालय प्रवेश गर्ने प्रक्रियामा अघि बढ्ने उनले बताए । 

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पटकपटक पत्राचार गर्दा पनि बद्री केसी पक्षले संघको सचिवालय, एमआइएस प्रणाली लगायत हस्तान्तरण गर्न अस्वीकार गर्दै आएको छ।  

अध्यक्ष श्रेष्ठले विभिन्न देशका एनसीसीहरूमा विवाद नल्याउन आग्रह पनि गरे। “केन्द्रको विवाद मिलाउन सजिलो छ, तर एनसीसीहरु विभाजित भए भने तिनको विवाद सुल्झाउन झनै कठिन हुन्छ,” उनले भने। 

श्रेष्ठले एनआरएनए अमेरिकालाई एकताको पहल गर्न र केन्द्रको विवाद समाधानमा समेत भूमिका खेल्न आग्रह पनि  गरे।

उनले संस्थाभित्रको विवादले विदेशमा बस्ने नेपालीका मुद्दा प्रभावकारी रूपमा उठाउन नसकिएको स्वीकार गर्दै भने, “विवादले हामीलाई हल्का रूपमा लिन थालिएको छ। पहिला विवाद मिलाउनुस्, अनि मुद्दा लिएर आउनुस् भन्छन्।”

अध्यक्ष श्रेष्ठले एनआरएन नागरिकताको कार्यान्वयन, लगानी अभिवृद्धि  र नेपालको समृद्धिजस्ता विषय अगाडि बढाउन पनि संस्थालाई एकजुट बनाउनुको विकल्प नभएको जनाए। उनले कार्यक्रमका सहभागीहरुले राखेका जिज्ञासाहरुको जवाफ पनि दिएका थिए।

कार्यक्रममा एनआरएनए आइसीसीका उपाध्यक्ष सुनील साह, विश्व संजालका अध्यक्ष विष्णु सुबेदी लगायतका वक्ताले एनआरएनएलाई विधि विधानको आधारमा चलाउनु पर्ने बताउंदै संस्थालाई एकजुट बनाउन पहल गर्न आग्रह गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू