लन्डनमा पलेटी कसेर नेवारी भोज, रमाए गैर नेवार र विदेशी पनि



लन्डन – लन्डनमा मौलिक नेवारी परम्पराअनुसार ‘गुथि भ्वय्-‘ (नेवारी भोज) गरिएको छ।
पासा पुचः गुथि साउथ इष्ट लन्डन शाखाको आयोजनामा आइतबार चार्ल्टन पार्क रग्बी क्लबमा आयोजित भोजमा २ सय ५० जनाभन्दा बढीको सहभागिता रह्यो।
मौलिक नेवारी परम्पराअनुसार विभिन्न ४० भन्दा धेरै थरिका परिकारहरु समेटिएको भोज पलेटी कसेर लप्टे (टपरी) मा खाइएको थियो।
शुरुमा समयबजी र पछि मुख्य भ्वय् गरी दुर्य चरणमा भोज सर्भ गरिएको थियो। भोजमा नेवारी परम्पराअनुसार लन्डनमै तयार पारिएका ऐला र थों जस्ता मौलिक पेयहरु पनि विशेष आकर्षण थिए।
भोज शुरु हुनुपूर्व समाजका ९ जना ज्येष्ठ सदस्यहरुलाई थकाली मानेर सम्मानसहित फेटा गुथिएको थियो। उनीहरुसंगै भोजमा सहभागी विभिन्न अतिथिहरुलाई मौलिक धिमेबाजा बजाएर स्वागत गर्दै भोजस्थलसम्म पुर्याइएको थियो । विधिपूर्वक सबैभन्दा ज्येष्ठ सदस्य नकिं र अरु थकालीले शुरु गरेपछि अरु सबैका लागि पनि भोज खुला भएको थियो ।
भोजमा सबैभन्दा ज्येष्ठ सदस्य मोतीदेवी डंगोल नकिंको भूमिका निर्वाह गरेकी थिइन् भने अरु थकालीमा कुमार श्रेष्ठ, नगेन्द्र श्रेष्ठ, चुत्रबहादुर श्रेष्ठ, अमर मल्ल, रामप्रसाद श्रेष्ठ, जविन बज्राचार्य, महेन्द्र शाक्य र कृष्ण श्रेष्ठ थिए ।
भोजमा बेलायतको गैरनेवार नेपाली समुदाय र केही बेलायती तथा विदेशी पाहुनाहरु पनि सहभागी थिए। भोजका लागि आयरल्यान्ड र वेल्ससहित टाढा टाढाका स्थानबाट लन्डनसम्म आउनेहरु पनि थिए।
बेलायतको कोर्क युनिभर्सिटीबाट नेवारी संस्कृतिमा विद्यावारिधि गर्दै गरेकी इटालियन नागरिक मर्लिना फ्रिसोना, सोही युनिभिर्सिटीमा बौद्ध दर्शनकी प्राध्यापक जापानिज नागरिक ताट्सोमा पादोआन, सोआस् युनिभर्सिटीकी प्राध्यापक स्टेफनी लोटर, डा मीना शर्मालगायतका अध्येताहरु पनि भोजमा उपस्थित थिए ।
भोजमा पस्किएका सबै परिकारहरु संस्थाका सदस्यहरु आफैले स्वयमसेवी रुपमा तयार पारेका थिए । भोजमा परिकारहरु बांड्न र अतिथि सत्कारमा खटिनेहरुमा नयाँ पुस्ताका तन्नेरीहरु पनि धेरै थिए ।
आयोजक पासा पुचः गुथि यूके साउथ इष्ट लन्डन शाखाका अध्यक्ष सुरोज मास्केले भोज सफल पार्न अहोरात्र खटिने संस्थाका सबै सदस्य तथा स्वयम्सेवक र अतिथिहरु सबैप्रति धन्यवाद ज्ञापन गरे । भोजमा बालबालिकाबाहेक पनि २ सय ५० जनाभन्दा बढीले भाग लिएको जानकारी उनले दिए ।
पासा पुचः गुथि यूकेका अध्यक्ष सुशील प्रजापतिले नेपालको मौलिक परम्परा र खाना संस्कृतिलाई बेलायतमा पनि निरन्तरता दिने प्रयासस्वरुप भोज आयोजना गरिंदै आएको जानकारी दिए। भोजमा बेलायतबाहिर र गैरनेवार तथा गैरनेपालीसम्मका समुदायबाट प्रतिनिधित्व भएकोमा खुशी व्यक्त गर्दै प्रजापतिले आगामी दिनमा भोजलाई झन् व्यापक र वृहत पार्दै लैजाने बताए ।
अध्यक्ष सुरोज मास्केको अध्यक्षता र महासचिव इश्वर महर्जनको सन्चालनमा सम्पन्न भोजको संयोजन उपाध्यक्ष सत्यप्रसाद प्रजापतिले गरेका थिए ।
भोजमा अतिथिका रुपमा बेक्सली नेपाली समाज यूकेका अध्यक्ष डा हरिश ज्ञवाली, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, हेल्प नेपाल नेटवर्क यूके अध्यक्ष सचिन श्रेष्ठ, तमुधिं यूके पूर्व अध्यक्ष सुबसिं गुरुङ, आरजीएनएस अध्यक्ष लिलादेवी गुरुङ, जिगेसा अध्यक्ष हरिकुमार मल्ल, चार्ल्टन नेपाली समाज अध्यक्ष सीता अर्याल, डाटफोर्ड नेपाली समाज अध्यक्ष डा बिना घिमिरे, नेपाली युथ एशोसिएसन अध्यक्ष लछुमन गुरुङ, एनआरएनए यूके पूर्व महासचिव फडिन्द्र भट्टराई, प्रसिद्ध प्रधान, रेशम अर्यालसहित विभिन्न संघसंस्था र समुदायका प्रतिनिधि सहभागी थिए।
सो अवसरमा पासा पुचः गुथि यूकेका निवर्तमान अध्यक्ष ओजेश सिंह, वर्तमान महासचिव नगेन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष एवम् शाखाका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, अल्डरसट शाखा अध्यक्ष प्रजेश श्रेष्ठ, लन्डन शाखा अध्यक्ष रुक्मिणी मानन्धर, साउथ इष्ट लन्डन शाखाका निवर्तमान अध्यक्ष माधवलाल श्रेष्ठ, पूर्व अध्यक्ष चुत्रबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष देवेन्द्र श्रेष्ठलगायतको पनि सहभागिता थियो।
तस्विरहरुः शिव श्रेष्ठ