सोमबार, जेठ २७, २०८२
09:03 | १३:४८

लन्डनका कवि खुपेन सुनुवारले ल्याए ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’

नेपाली लिङ्क जुन ८, २०२५

लन्डन । युवा कवि खुपेन सुनुवारको कवितासङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ लण्डनको सडबरीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । लेखकहरू गोपी सापकोटा, डा. सुमाया राई, काङमाङ नरेश राई , केदार संकेत, निर्भीकजंग रायमाझी तथा कवि खुपेनले शनिबार संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै लेखक गोपी सापकोटाले कवि खुपेनले आफ्नो जीवन अनुभव र बाँचेको परिवेशलाई सरल भाषासहित सुन्दर चित्रण गर्न सफल रहेको बताए । अर्का वक्ता काङमाङ नरेश राईले खुपेनको एउटै कवितामा इतिहासदेखि आख्यानसम्म र भौतिकतादेखि दर्शनशास्त्रसम्म अटाएको उल्लेख गरे । लेखक सुमाया राईले खुपेनको कविताहरूले मानवीय अस्तित्वको खोज गर्दै जीवनको सार्थकतामाथि जोड दिएको धारणा राखिन् ।


‘माया पब्लिकेशन’ काठमाडौंले प्रकाशित गरेको कवितासङ्ग्रहमा ६८ थान कविता समेटिएका छन् । रामेछाप मूल घर भएका कवि खुपेन एक दशकदेखि यूके बस्दै आएका छन् । यसअघि उनको गीति–कविता ‘ब्लु–नोट’ प्रकाशित छ ।

‘नेपाली बुक्स यूके’ तथा ‘साहित्य–संगालो यूके’को संयुक्त आयोजनामा भएको कार्यक्रममा यूकेस्थित नेपाली साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू