प्रवासी नेपाली मञ्च यूकेको नेतृत्व लिन पोखरेल अग्रपंक्तिमा


लन्डन । एमाले निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूके यतिखेर नवौं अधिवेशन तयारीमा जुटेको छ ।
आउंदो १५ जुनमा बेलायतको लेस्टरमा हुन लागेको अधिवेशन उद्घाटनका लागि एमाले महासचिव शंकर पोखरेल, युरोप इन्चार्ज घनश्याम पाण्डे, प्रवासी नेपाली अन्तरराष्ट्रिय मञ्चका अध्यक्ष सञ्जय थापा र प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटी सचिवालय सदस्य प्रभु थापा बेलायत आउंदैछन् ।
नवौं महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले अधिवेशन सरगर्मी अझ बढेको छ ।
यसैबीच, ओएनएफ यूके अध्यक्षमा लेष्टर निवासी समाजसेवी तथा नेता पशुपति पोखरेलले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
यसअघि मञ्चको उपाध्यक्ष भइसकेका पोखरेल हाल सदस्य र संघसंस्था समन्वय विभाग प्रमुख छन् ।
वाध्यता वा रहरले विदेश आएपनि नेपालसंग राष्ट्रिय साइनो र पारिवारिक साइनो नमेटियोस् भनेर वंशजको नागरिकता निरन्तरता पहल आफ्नो पहिलो एजेण्डा रहेको पोखरेलले बताए । अन्तर्राष्ट्रिय कमिटीसंग समन्वय गरेर यसमा आवाज बुलन्द गर्ने उनको सोच छ ।
बेलायतस्थित एमाले कार्यकर्ता र संघसंस्थासंग समन्वय गरेर नेपालको समृद्धि अभियानमा आर्थिक, नैतिक सहयोग जुटाउने, नेपालीको हक हित र आपतविपतमा सहयोग गर्ने पवित्र उद्देश्य आफ्नो रहेको पनि उनले बताए ।
वि.सं. २०५३ सालदेखि एमालेको क्रियाशील सदस्य रहेका उनी सन् २००८ मा बेलायत आउनु अघि नेपालमा लामो समय राजनीतिमा क्रियाशील थिए ।
पञ्चायतकालमै ८ कक्षादेखि उनी अनेरास्ववियूमा आवद्ध भए । प्रारम्भिक कमिटी अध्यक्ष, जिल्ला कमिटी र क्याम्पस प्रारम्भिक कमिटीमा पनि उनले काम गरे ।
बेलायत आएपछि उनी प्रवासी नेपाली मञ्च यूके र एनआरएनए यूकेसंग जोडिए । एनआरएनए यूकेमा दुई पटक निर्वाचन कमिटी सदस्य भइसकेका उनी लेष्टरमा क्रियाशील सृजनशील लेष्टर नेपाल यूकेका पूर्व अध्यक्ष समेत हुन् ।
समाजसेवा समेत उत्तिकै सक्रिय उनले नेपालमा महाभूकम्प र कोभिड महामारीका बेला निकै सहयोग गरेका थिए ।
बुबा हेमनाथ शर्मा पोखरेल र आमा चन्द्रकलाको माइलो छोराका रुपमा उनी पाल्पाको साविक सोमादी गाविस तानसिंगल ७ (रैनादेवी छहरा २) मा जन्मिए । हाल रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका मंगलापुरमा बसाइ छ ।