एमाले महासचिवले बेलायत आउनुअघि भेटे राजदूत


लण्डन । एमाले महासचिव शंकर पोखरेल पार्टी निकट प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको नवौं अधिवेशन उद्घाटन गर्न बेलायत आउने भएका छन्।
युरोप हुँदै १२ जुन बेलायत आउन लागेका पोखरेलले नवौं अधिवेशनमा प्रमुख अतिथिका रुपमा भाग लिनेछन्।
अधिवेशनमा एमाले युरोप इन्चार्ज घनश्याम पाण्डे र प्रवासी नेपाली अन्तरराष्ट्रिय मंचका अध्यक्ष संजय थापा, प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटी सचिवालय सदस्य प्रभु थापासहितका नेताहरु अतिथिका रुपमा सहभागी हुनेछन् ।
१५ जुनमा बेलायतस्थित लेस्टरमा हुन लागेको नवौं महाधिवेशनले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
एमाले महासचिव पोखरेल बेलायत रहँदा नेपाली दूतावास लण्डनद्वारा आयोजित कार्यक्रममा पनि सरिक हुने तालिका छ । त्यस्तै, नेपाल बेलायतबीचको दौत्य सम्बन्ध, व्यापार, लगानी, पर्यटन अभिवृद्धि हुने कार्यक्रममा नेता पोखरेल सहभागी हुने जनाइएको छ ।
साथै, नेपाल र बेलायतका राजनीतिक दलहरुबीच द्विपक्षीय सम्बन्ध अघि बढाउन यहाँका सरकारी निकाय र राजनीतिक दलका विभिन्न पक्षसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
महासचिव पोखरेल लण्डन हाइगेटस्थित कार्ल मार्क्सको समाधि स्थलमा पुष्पगुच्छा अर्पण कार्यक्रमपछि बेलायतस्थित नेपाली समुदायसंग अन्तरक्रिया र भेटघाट गरी भूतपूर्व गोर्खा आन्दोलन, गैरआवासीय नेपाली नागरिकता र अन्य समसामयिक विषयमा छलफल गर्नेछन्।
महासचिव पोखरेलले बेलायत भ्रमणमा आउनु अघि काठमाडौंस्थित बेलायती दूतावास भ्रमण गरी राजदूत रब फेनसंग भेट गरेका छन् । सो अवसरमा उनले दुई देशबीच चासोका विषय र आफ्नो आसन्न बेलायत भ्रमणबारे छलफल गरेका थिए ।
महासचिव पोखरेललाई बेलायतमा स्वागत गर्न सम्पूर्ण तयारी भइसकेको ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले जानकारी दिए ।