शनिबार, ६ सेप्टेम्बर, २०२५
10:37 | १५:२२

गोर्खा कपमा झुम्मिए १५ हजार बढी दर्शक, उपाधि नेपाल ड्रिमलाई

नेपाली लिङ्क मे २६, २०२५


लन्डन । बेलायतमा नेपाली समुदायको सबैभन्दा वृहत मानिने गोर्खा कप फुटबल प्रतियोगिताको उपाधि मेनतर्फ नेपाल ड्रिम टिमले जितेको छ ।

अल्डरसटको क्वीन्स एभिन्यू खेल मैदानमा आइतबार भएको गोर्खा कपको २३औँ संस्करणको फाइनलमा गुरुजी एलिटलाई पराजित गर्दै ड्रिम टिमले उपाधि चुमेको हो ।

उपाधिसँगै नेपाली ड्रिमले ३ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता गुरुजी एलिटले १ हजार ८०० पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो ।

मेन टिमतर्फ वेष्ट म्यानेजर नेपाल ड्रिमका सक्थिम चेम्जोङ, टप गोल स्कोरर गुरुजी एलिटका रोबेल नाल्बो, प्लेयर अफ द म्याच नेपाल ड्रिमका ईश्वर गुरुङ घोषित भए ।

भेट्रानतर्फ हिमालयन एफसी ४ गोल गर्दै विजेता बन्यो भने इन्टेक २००० शून्य गोलमा रनर अप भयो । यस क्याटेगोरिजमा विजेताले १ हजार ५०० पाउन्ड र रनरअपले एक हजार पाउन्डसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् ।

भेट्रानतर्फ वेष्ट म्यानेजर हिमालयन एफसीका कुमार थापा, टप गोल स्कोरर डा. सन्दीप गुरुङ र प्लेयर अफ द म्याच खुम गुरुङ घोषित भए ।

दुई टिममात्र प्रतिष्पर्धी रहेको महिलातर्फ रन्डर बोल्ट्स एफसी तीन गोलसहित विजेता बनेको छ भने तामाङ समाज यूके उपविजेता बन्यो । विजेता र उपविजेताले क्रमशः ६०० र ४०० पाउन्डसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे । महिलातर्फ वेष्ट प्लेयर गरिमा राई घोषित भइन् ।

तमुधिं यूकेले अहिलेसम्म गोर्खा कपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पहिलोपटक प्रदान गरेको ‘लिजेन्ड अफ द फुटबल’ उपाधि लोकप्रसाद चेम्जोङ धनकुटेले प्राप्त गरे ।

विजेता, उपविजेता, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र म्यानेजरहरुलाई आयोजक तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे, सांसद अलेक्स बेकर, रसमोर बरो काउन्सिलका मेयर काउन्सिलर क्यालुम स्टेवार्ट, प्रायोजक, फुटबल खेलाडी सावित्रा भण्डारी साम्बा र गोरख घलेले वितरण गरेका थिए ।

यस वर्ष गोर्खा कपमा मेन क्याटेगोरिजतर्फ ३२, भट्रानतर्फ १६ र महिलातर्फ दुई गरी ५० टिम प्रतिष्पर्धी थिए ।

झण्डै १५ हजार दर्शक सहभागी गोर्खा कप फुटबलमात्र नभएर नेपाली कला संस्कृति, खाना, रहनसहन र परम्परा झल्काउने एउटा मेला बनेको थियो ।

स्थानीय रसमोर बरोले समेत आफ्नो वार्षिक क्यालेण्डरमा राखेको यस इभेन्टमा यो वर्ष प्रमुख आकर्षण थिइन् अन्तर्राष्ट्रिय खेलहरुमा सर्वाधिक गोल बनाउने र युरोप (फ्रान्स) मा व्यवसायिक खेल खेल्ने पहिलो नेपाली राष्ट्रिय खेलाडी सावित्रा भण्डारी (साम्बा) ।

गोरख घलेसहित इंग्ल्याण्ड फुटबल टिमका खेलाडीहरुको सहभागिता, अल्डरसट टाउन फुटबल क्लबले हालै जितेको एफए कपको ट्रफी प्रदर्शन, सांस्कृतिक नाचगान, स्वास्थ्य शिविर लगायत खाना र च्यारिटीका स्टलहरु आकर्षण बनेका थिए । मौसमका कारण प्यारासुट डिस्प्ले भने भएन ।

महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको औपचारिक तथा पुरस्कार वितरण समारोहमा खेल संयोजक दीपक घलेले स्वागत मन्तव्य दिंदै सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे, सांसद अलेक्स बेकर, रसमोर बरो काउन्सिलका मेयर काउन्सिलर क्यालुम स्टेवार्ट लगायतले मन्तव्य दिंदै गोर्खा कपले समुदायलाई ‘इन्टिग्रेट’ बनाएको धारणा राखे । अध्यक्ष गुरुङले सबै सहयोगी, प्रायोजक र खेलप्रेमी दर्शकहरुप्रति आभार व्यक्त गरे ।

तस्विरहरुः एस के गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू